Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


यी हुन् टिचिङ अस्पतालकाे डाक्टर भन्दै बिरामी जाँच्ने नक्कली डाक्टर

एक्सन खबर
माघ, ८, २०८०


यी हुन् टिचिङ अस्पतालकाे डाक्टर भन्दै बिरामी जाँच्ने नक्कली डाक्टर

काठमाडौं । आफुलाई टिचिङ अस्पतालकाे डाक्टर भनि परिचय दिँदै अर्काकाे नेपाल मेडिकल काउन्सिलकाे नम्बर प्रयाेग गर्दै बिरामी जाँच्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मोरङ विराटनगर उपमहानगर-२ घर भई काठमाडौं-३ महाराजगञ्ज बस्ने ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई नक्कली डाक्टर बनी बिरामी जाँचेकाे आराेपमा पक्राउ गरी सार्वजनिक गरेकाे हाे ।

डा. एस भट्ट आचार्य भन्ने सम्बुद्ध भट्टाचार्यले काठमाडौंको बसुन्धारास्थित धौवलागिरी हिमाल पोलिक्लिनिकमा इन्डोग्रिनोलोजी कन्सल्टेन्टको रूपमा काम गर्ने गरेका थिए ।

कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यले नक्सालमा रहेको वी केयर पोलिक्लिनिकमा समेत काम गर्ने गरेका थिए । उनले उक्त पोलिक्लिनिकमा ९ महिना काम गरी करिब ६३० बिरामीको उपचार समेत गरेकाे पाइएको छ । क्लिनिकमा उपचार गराएबापत उनले ७५० रुपैयाँ लिने गरेको खुलेको प्रवक्ता एसपी रेग्मीले बताए ।

भट्टाचार्यले धवलागिरी पाेलिक्लिनिकमा प्रति बिरामी ५ सय रूपैंया लिँदै ४० जनाभन्दा बढी बिरामीकाे उपचार गराएको खुलेको छ । चीनबाट एमबिबिएस पढेको दाबी गरेका भट्टाचार्यले नेपाल मेडिकल काउन्सिल नम्बर पनि अरूकाे नै प्रयाेग गरिरहेकाे खुलेकाे छ । उनले प्रयाेग गरेकाे एनएमसी नम्बर ९६७० गाेखराकी एक एमबिबिएस डाक्टरकाे हाे ।

चीनबाट एमबिबिएस उत्तिर्ण गरेकाे प्रमाण माग गर्दा भट्टाचार्यले देखाउन नसकेको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक निर्मलकुमार थापाले बताए ।  ‘चीनबाट पढेको भनेर भन्नुभएको छ । तर प्रमाणपत्र देखाउनुस् भन्दा देखाउन सक्नुभएको छैन, टिचिङ अस्पतालमा काम गर्ने गरेको पनि भन्दै हिँड्नुहुन्छ । तर त्यस्तो गरेको पाइएन ।’ प्रहरी निरीक्षक थापाले भने ।

उनीबाट विभिन्न विश्व स्वास्थ्य संगठनकाे नक्कली प्रमाणपत्र, वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपति डा. ज्ञानेन्द्र गिरीले दिएकाे पत्र लगायत कागजातहरू पनि बरामद गरिएकाेमा ती सबै नक्कली भएको प्रहरीले बताएकाे छ । उनी सँगबाट नेपाल चिकित्सक संघ र टिचिङ अस्पतालको कार्ड फेला परेको छ । भने, विभिन्न संस्थाकाे नाम भएकाे प्रशंसापत्र, प्रमाणपत्र समेत फेला परेकाे छ ।

उनीबाट पूर्वस्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर भएको नक्कली प्रशंसा पत्र पनि प्रहरीले बरामद गरेको छ । ‘विभिन्न संस्थाको नाम प्रयोग गरिएका प्रशंसापत्र, प्रमाणपत्र र अन्य कागजातहरू र पूर्वमन्त्री उपेन्द्र यादवको हस्ताक्षर समेत भएको प्रमाणपत्र बरामद गरेका छाैं ।’ उनले विदेश जानेहरूको मेडिकल रिपोर्ट समेत बनाउने गरेको भन्दै प्रहरी निरीक्षक थापाले भने ।

प्रहरीले उनीविरूद्ध इलाजसम्बन्धी कसुर र नक्‍कली कागजात खडा गरेको भन्दै लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । उनले कन्सल्टेन्ट डाक्टर बनी करिब ३ वर्षदेखि बिरामी जाँच गरिरहेकाे अनुसन्धानमा खुलेकाे छ ।















0 प्रतिकृया