Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


इनरुवाका सुनचाँदी व्यवसायी ‘पप्पु’ ठूलो परिमाणमा गाँजासहित भारतमा पक्राउ

एक्सन खबर
माघ, ८, २०८०


इनरुवाका सुनचाँदी व्यवसायी ‘पप्पु’ ठूलो परिमाणमा गाँजासहित भारतमा पक्राउ

इनरुवा । लामो समयदेखि इनरुवामा सुनचाँदीको व्यवसाय गर्दै आएका इनरुवास्थित जयकाली ज्वेलर्सका सञ्चालक निरज साह उर्फ पप्पु ठूलो परिमाणको गाँजासहित भारतको पश्चिम बंगालस्थित न्यू जलपाइगुडीमा पक्राउ परेका छन् । पुस २९ गते अबेर पक्राउ परेका उनी हाल भारत पश्चिम बंगाल मैनागुडी थानाअन्तर्गत हिरासतमा छन् ।

उक्त दिन इनरुवाबाट विराटनगर हुँदै भारत प्रवेश गरेका निरज सवार बिआर ५० एक्स ७४७५ नम्बरको गाडी भारतको सो क्षेत्रमा त्यहाँको सुरक्षाकर्मीले चेकजाँच गर्दा गाडीमा झण्डै २४ किलो गाँजासँगै दुई जनालाई पक्राउ गरेका थियो । पक्राउ पर्नेमा जयकाली ज्वेलर्स इनरुवाका सञ्चालक साह र उनका भतिजा नाता पर्ने एक जना समेत छन् ।

ठूलो परिमाणको गाँजासहित पक्राउ परेका उनीहरु विरुद्ध त्यहाँको मैनागुडी प्रहरी कार्यालयले एफआईआर नम्बर २० बि सी २५, २९ अनुसार अनुसन्धानको प्रक्रिया अगाडि बढाउँदै थप अनुसन्धान सुरु गरेको त्यहाँको सुरक्षा निकायले जानकारी दिएको छ ।

न्यू जलपाइगुडी प्रशासनका अनुसार विगत लामो समयदेखि गाँजाको तस्करीमा संलग्न रहेको पप्पु यसपटक त्यहाँको सुरक्षा निगरानीमा पक्राउ परेका हुन् । सुरक्षा स्रोतका अनुसार पप्पुलगायत अन्य आधा दर्जनभन्दा बढीको सक्रिय समूहको टोलीले विगत लामाे समयदेखि अवैध सुन र गाँजा भारततर्फ तस्करी गर्दै आएका थिए ।

उनीहरुमाथि निगरानी लामो समयदेखि गरिरहँदा यसपटक भने सफलता पाइएको त्यहाँका प्रहरी प्रमुख श्रीखण्डबहाले उमेश गणपतले बताए । हाल पक्राउ परेकाहरुसँग थप सोधपुछ र अनुसन्धान भइरहेको उनले जनाए ।

अनुसन्धानका क्रममा सुनसरी जिल्लाको सदरमुकाम इनरुवाका अन्य धेरै व्यक्तिको नामावलीसमेत पप्पुले बयानमा लिएकाे त्यहाँस्थित विभिन्न सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् । ती सञ्चारमाध्यमहरुका अनुसार इनरुवामा रहेका केही सुनचाँदी व्यवसायी अवैध सुनको तस्करी र लागु औषधसँगै गाँजाको समेत तस्करी भारततर्फ गर्ने गरेको बताइएको छ ।

एक दशक अघिदेखि इनरुवामा सुनचाँदी व्यवसाय गर्दै आएका पप्पु छोटो समयमा धेरै सम्पति आर्जन गर्नुको कारण पनि भारतीय प्रशासनले खोजीनिति थालेको छ । पक्राउ पर्दा भारतीय प्रशासनमा आफ्नो नामसमेत गलत बताएका पप्पुले त्यहाँ आफ्नो नाम प्रकास स्वर्णकार बताएका छन् । उनीसँगै अनुराग स्वर्णकारसमेत त्यहाँको प्रहरीको एफआईआर सूचीमा सूचीकृत भई दर्ता गरिएका छन् । यसबारे थप अनुसन्धान गरिरहेकोले त्यहाँको प्रहरीले अन्य विषय खुलाउन चाहेन ।

यता, इनरुवास्थित पप्पुका भाइ विजय साह सोनीले आफ्ना दाइ सवार गाडीमा गाँजा हालेर भारतीय प्रहरीले फसाउन खोजेको आरोप लगाए । यसबारे नेपाल प्रहरीले समेत पप्पुको अनुसन्धानमा चासो देखाएको सुनसरी प्रहरी स्रोतले जानकारी दिएको छ । निकै छोटो समयमा सुनचाँदी व्यवसायबाट करोडौँ आर्जन गरेका पप्पुको आयस्रोतको समेत छानबिन जारी रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

न्यू जलपाइगुडीबाट प्रशान्त आचार्यको सहयोगमा इकबाल अहमद













0 प्रतिकृया