आज राष्ट्रिय सभा निर्वाचन: ५१ जना उम्मेदवार
एक्सन खबर
काठमाडौं । आज राष्ट्रिय सभा निर्वाचन हुँदैछ । सातै प्रदेशमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यतालिका रहेकाे छ । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन, नेकपा एमाले, राप्रपा नेपाल लगायत आठ राजनीतिक दलका ५१ जना चुनावी मैदानमा छन् ।
निर्वाचन आयोगले अपरान्ह ३ बजे मतदान सकिए लगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने जनाएको छ । निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताएका छन् ।
निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवारमध्ये कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६/६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार रहेकाे निर्वाचन आयोगले जनाएकाे छ ।
राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन्छ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ । निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेकाेमा उनीहरूकाे जम्मा मतभार ५७ हजार ५५९ छ । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।
प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुने निर्वाचन आयोगले जनाएकाे छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्षकाे छ । अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न निर्वाचन हुन लागेको हो ।
६ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित नेकपा एमालेका ९ सदस्य राष्ट्रिय सभाबाट बिदा हुनेछन् । राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि निर्वाचन गर्ने कानुनी व्यवस्था छ ।
0 प्रतिकृया