Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


राष्ट्रिय सभा निर्वाचनः कृष्णप्रसाद सिटौला राष्ट्रियसभामा निर्वाचित

एक्सन खबर
माघ, ११, २०८०


राष्ट्रिय सभा निर्वाचनः कृष्णप्रसाद सिटौला राष्ट्रियसभामा निर्वाचित

विराटनगर । कांग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रिय सभामा निर्वाचित भएका हुन् । उनले पाैडेल भन्दा ७३० मतभार बढी ल्याए ।

सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो । पराजित पाैडेललाई एमाले–राप्रपा गठबन्धनकाे साथ थियाे ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले प्रदेशसभातर्फ २३८५ मतभार पाउँदा पौडेलले २४९१ मतभार पाए । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार पाउँदा सिटौलाले कुल ५२९२ र पौडेलले ४५६२ मतभार पाए ।

कोशीमै सत्ता गठबन्धनको उम्मेदवार हराउँदै नेकपा एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भइन् । उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरिन् ।

एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाउँदा सत्ता गठबन्धनकाे समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् । प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मतदान गरे । कोइरालाले २५९७ मतभार र कार्कीले २३३२ मतभार पाइन् । स्थानीय तहतर्फ काेइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गर्दा कोइरालाको मतभार २४८९ र कार्कीको मतभार २६६० भएको थियो ।

एमाले उम्मेदवारलाई सत्ता गठबन्धनमा रहेका दलका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख दुवैथरिले मतदान गरे । प्रदेशमा सत्ता गठबन्धन भन्दा नेकपा एमाले राप्रपा गठबन्धन ७९४ मतान्तरले पछाडि थियाे ।













0 प्रतिकृया