राष्ट्रिय सभामा कुनबाट काे काे निर्वाचित भए ?
एक्सन खबर
काठमाडाैं । १९ सिटका लागि बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा सातै प्रदेशमा ५२ जना उम्मेदवार थिए । निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाकाे गठबन्धन र नेकपा एमाले र राप्रपाविच तालमेल भएकाे थियाे ।
कोशी प्रदेशबाट कांग्रेस नेता कृष्ण सिटौला र एमालेकी रुक्मिणी कोइराला निर्वाचित हुँदा मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी निर्वाचित भए ।
बागमती प्रदेशबाट कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएकाे निर्वाचन आयोगले जनाएकाे छ । आयोगका अनुसार गण्डकी प्रदेशबाट भएको ३ सिटको निर्वाचनमा कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीकी मनरुपा शर्मा निर्वाचित भए ।
लुम्बिनी प्रदेशबाट महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित हुँदा कर्णाली प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णु विक विकल्प र कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भए ।
सुदूरपश्चिम प्रदेशबाट महिलातर्फ माओवादीकी रेणु चन्द, अपाङ्गतातर्फ कांग्रेसका नारायण भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएका छन् । २० सिट मध्ये एक सिट राष्ट्रपतिले मनाेनयन गर्ने व्यवस्था छ । सत्ता गठबन्धन विचकाे सहमति अनुसार उक्त सिट राष्ट्रिय जनमाेर्चा नेपाललाइ दिइनेछ ।
0 प्रतिकृया