Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


राष्ट्रिय सभा निर्वाचनः सिटौलालाई जिताउन गिरीको महत्वपूर्ण भूमिका

एक्सन खबर
माघ, ११, २०८०


राष्ट्रिय सभा निर्वाचनः सिटौलालाई जिताउन गिरीको महत्वपूर्ण भूमिका

माधब काफ्ले

माेरङ । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले कठिन परिस्थितिका बीच राष्ट्रियसभा सदस्य निर्वाचनमा बाजी मारे । सत्तारूढ गठबन्धनकै महिला उम्मेदवार पराजित हुने परिस्थितिबीच सिटौला निर्वाचित हुनुलाई धेरै आश्चर्य मानेका छन् ।

कोशी प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा चार जनाले चुनावी प्रतिस्पर्धा रोजेका थिए । जसमध्ये, कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका सिटौलाले राप्रपाका उद्धव पौडेललाई हराए ।
 
राप्रपासँग सहकार्य गरेर नेकपा एमालेले सिटौलालाई रोक्ने दाउ बनाएको थियो । तर, कांग्रेसका नेता–कार्यकर्ताको साथ र गठबन्धन दलहरूको सहयोगमा सिटौला विजयी भए ।

सिटौलालाई जित्ने माहोल बनाउनका लागि साथ दिने नेता–कार्यकर्ताबीचका एक हुन्, अभिषेक गिरी । पछिल्लो समय समाजसेवामा सक्रिय देखिएका गिरिले राष्ट्रियसभा निर्वाचनका बेला गरेको दौडधुपले सिटौलाको जित अझ सहज बनेको बताइन्छ । गिरी स्वयम् भन्छन्, ‘राम्रो व्यक्तिले राष्ट्रियसभा स्थान पाउनुभएको छ । उहाँलाई हामीले सक्दो सहयोग गरेका हौँ । कठिन अवस्थाकाबीच सबै मिलेर उहाँलाई उकास्यौं । धेरै खुसी छु ।’

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका निर्वाह गरेका सिटौला करिब एक दशक लगभग शक्तिविहीन थिए । तर, अहिले पुनः सत्ता–शक्तिमा ल्याउन माओवादीलगायत गठबन्धन दलको समर्थन रह्यो ।

कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिने सिटौलालाई संस्थापन इतर (डा. शेखर कोइराला) पक्षले असहयोग गर्ने शंका थियो । तर, गिरीलगायत केही नेताका कारण कोइरालामात्र नभएर कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खुलेरै समर्थन गरे । जसका कारण पनि उनको जित सुनिश्चित भयो ।

सिटौलाले आफ्ना निकटतम् प्रस्तिपर्धी राप्रपाका पौडेललाई सात सय ३० मतान्तरले पराजित गरेका हुन् । पौडेलले कुल ४ हजार पाँच सय ६२ मत ल्याउँदा कांग्रेसका सिटौलाले पाँच हजार दुई सय ९२ मत ल्याए ।

सिटौलालाई प्रदेशसभाको ४५ जना र पौडेललाई ४७ जना सदस्यहरूले मतदान गरेका थिए । स्थानीय तहतर्फ सिटौलाले एक सय ५३ मत ल्याउँदा पौडेलले एक सय नौ जना पालिका अध्यक्ष–उपाध्यक्ष तथा प्रमुख–उप–प्रमुखको मत प्राप्त गरे ।

एमालेले राप्रपासँग गठबन्धन गरेको भए पनि पाैडेलले प्रदेशसभाको एक र स्थानीय तहको चार जनाको मत प्राप्त गरे । यो जितसँगै सिटौला ७७ वर्षको उमेरमा सत्ता–शक्तिमा पुनरागमन गर्न सफल भएका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर–३ बाट पराजित भएका सिटौलालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको सहयोग लिएर पराजित गरेका थिए ।

सिटौला त्यसअघि २०७४ को निर्वाचनमा पनि लिङ्देनसँग नै पराजित भएका थिए । संसद् प्रवेशमात्र नभएर राष्ट्रियसभाको अध्यक्षकै रूपमा उनको चर्चा छ । राष्ट्रियसभाको अध्यक्ष बनाउनकै लागि गठबन्धनले उनलाई जिताएको चर्चा छ ।













0 प्रतिकृया