बर्तमान गठबन्धन ताेड्न नेकपा एमाले उद्यतः माधब नेपाल
एक्सन खबर
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बर्तमान गठबन्धन ताेड्न उद्यत रहेकाे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालले बताएका छन् । पार्टीकाे दाेस्राे केन्द्रीय परिषद् बैठकमा बाेल्दै अध्यक्ष नेपालले एमाले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्यत रहेको जिकीर गरेका हुन् ।
गठबन्धन ताेड्न एमालेकाे भूमिका अत्यन्त गैर जिम्मेवार भइरहेको जिकीर गर्दै एमालेकाे याेजना सफल हुन नदिन पार्टी पंङ्ती लाग्नुपर्ने नेपालकाे भनाइ छ । समसामयिक राजनीति र नेपालको अवस्थाबारे लिखित सम्बोधन गर्दै अध्यक्ष नेपालले देशको राजनीतिक, आर्थिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय अवस्थाबारे चर्चा गर्दै भने, ‘प्रमुख प्रतिपक्ष एमाले अत्यन्त गैर जिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको छ र विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्यत रहेको छ ।’
मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिमा अझै पनि अस्थिरताका बादलहरु मडराइरहेको भन्दै नेपालले आम निर्वाचन २०७९ को परिणामले निर्माण गरेको राजनीतिक शक्ति सन्तुलनमा खासै परिवर्तन नभएको जनाउँदै माघ ११ को राष्ट्रिय सभा निर्वाचनमा एमालेले सत्ता गठबन्धनमा उलटफेर ल्याउने प्रयास गरेपनि सफल नभएको उल्लेख गरेका छन् ।
सामाजिक भेदभावको अन्त्य र सामाजिक न्यायको विषय अहिले पनि जनसरोकारको चर्को मुद्दा बनेको भन्दै नेपालले नेपाली जनतामाथि शोषण उत्पीडनको नयाँ रुप मिटरव्याजी शोषण चरम बनेको बताएका छन् ।
कोभिडको प्रकोपपछि प्रकट भएको आर्थिक संकट र मन्दी अहिलेसम्म पनि कायमै रहेकाे भन्दै नेपालले उठेको राजस्वले चालु खर्च धान्न धौ–धौ परिरहेको र मूल्यवृद्धि र मुद्रास्फीति बढिरहेको जनाएका छन् । ‘व्यापार घाटा चुलिँदै गएको छ । ठूलो सङ्ख्यामा युवा जनशक्ति वैदेशिक रोजगारीमा गएको छ र रेमिट्यान्सले अर्थतन्त्रलाई टेवा दिइरहेको अवस्था छ । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने भनिए पनि त्यस अनुसारको काम हुन सकेको छैन ।’ कृषि क्षेत्रमा लगायत अन्य धेरै क्षेत्रमा परनिर्भरता कायमै रहेको बताउँदै उनले भनेका छन् ।
भूमिहीन र गरिब किसान तथा अव्यवस्थित बसोबासीहरुले वर्षौदेखि भोगचलन गर्दै आएको जमिनमाथिको स्वामित्व प्राप्त गर्ने र उत्पादनको न्यायोचित वितरण गर्ने काम अहिलेसम्म पनि हुन नसकेकाे भन्दै नेपालले विगत सात दशकदेखि उठिरहेको क्रान्तिकारी भूमिसुधारको मुद्दा अहिलेसम्म पनि कार्यान्वयनको दिशामा अघि बढ्न नसकेकाे जनाएका छन् ।
सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने प्रयास गरिरहेको बताउँदै नेता नेपालले भ्रष्टाचार, कमिशनतन्त्र र तस्करीका अनेकौँ काण्डहरु उदाङ्गिनु सफलता ठानेका छन् । आर्थिक क्षेत्रको सुधार र भ्रष्टाचार नियन्त्रण एवं सुशासनका निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने भन्दै जनताको निराशा, प्रतिरोध र आक्रोशको भावनालाई उपयोग गर्दै प्रतिगमनकारी तथा पश्चगमनकारीहरुबाट विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधिहरु सञ्चालन गरी राजनीतिक अस्थिरता सिर्जना गर्ने र सामाजिक सद्भाव खलबलाउने कोशिष भइरहेको तर्क गरेका छन् ।
वर्तमान वाम–लोकतान्त्रिक शक्तिको सरकारका सामु निश्चित दायित्वहरु रहेको भन्दै उनले गठबन्धनका दलहरुबिच छलफल गरेर तयार पारिएका न्यूनतम साझा कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । आफ्नो पार्टी सरकार सञ्चालनको क्षेत्रबाट राष्ट्रियता, लोकतन्त्र, जनजीविका, सुशासन, मानव अधिकार र सामाजिक न्यायको पक्षमा प्रभावकारी ढङ्गले काम हुनु पर्दछ भन्ने मान्यतामा रहेको प्रष्ट्याएका छन् ।
सदनभित्र गणतन्त्रवादी र गणतन्त्र विरोधी, परिवर्तनकारी र प्रतिगमनकारी, अग्रगामी र पश्चगामी, संघीयता पक्षधर र संघीयता विरोधी, धर्म निरपेक्षतावादी र धर्मसापेक्षतावादी आदि विभिन्न चरित्रका राजनीतिक शक्तिहरू उपस्थित रहेकाे भन्दै यी शक्तिहरू बिच अनेक प्रकारले द्वन्द्व चलिरहेको र उक्त द्वन्द्वले मुलुकमा राजनीतिक अस्थिरता पैदा गर्ने प्रयत्न भइरहेकाे ठहर गरेका छन् ।
भाेलीसम्म चल्ने केन्द्रीय परिषद् बैठकले विधान संशोधन मस्यौदामाथि छलफल गरेर अन्तिम रुप दिनेछ । उक्त मस्याैदा आगामी जेठमा हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गरेसँगै संशोधित विधान कार्यान्वयनमा जाने बताइएकाे छ ।
0 प्रतिकृया