पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष कैद, एक अर्ब ७२ करोड रुपैयाँ जरिवाना
एक्सन खबर
काठमाडौं । पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरिएकाे छ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै तामाङलाई त्यति नै रकम जरिवाना तोकेको हाे ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका तामाङ, उनकी पत्नी सिर्जना र मामा ससुरा केशवराज श्रेष्ठलाई आइतबार सजाय तोकेको हाे ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार इच्छाराजकी पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना र इच्छाराजका मामाससुरा केशवराज श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यति नै बराबरको जरिवाना ताेकिएकाे छ ।
प्रकरणमा इच्छाराजका छोरीहरु प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाइसकेका छन् भने, इच्छाराज, पत्नी, दुई छोरीहरु, इच्छाराजका मामाससुरा केशवलाल श्रेष्ठ, केशवकी पत्नी मीनाको नाममा रहेको सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ । ‘यी प्रतिवादीहरु उपर काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा कसुर ठहर भएमा पीडितको बिगो भरिभराउने गर्ने कार्यले नै प्राथमिकता पाउने ठहर्छ ।’ फैसलामा उल्लेख गरिएकाे छ ।
२०७९ साल भदाै १६ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराजसहित उनकी पत्नी सिर्जना, दुई छोरी, मामाससुरा केशवराज विरुद्ध सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।
विभागले तामाङसँग ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ, एक कित्ता जग्गासहित विभिन्न ६९ कम्पनीमा रहेको विभिन्न कित्ता शेयर पनि जफत गर्न माग गरेको थियो । तामाङकी श्रीमती सिर्जना शाक्य तामाङसँग एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ, एउटा सवारी साधन, विभिन्न कित्ता जग्गा र विभिन्न स्थानको कसुरबाट प्राप्त भएको जग्गा पनि जफत गर्न माग गरेकाे थियाे ।
तामाङले ठगी गरेको उजुरी परेपछि नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धान गरेकोमा उनी लगायतले ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ठगी गरेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । प्रकरणमा सम्पत्ति शुद्धीकरण मुद्दा आकर्षित भएपछि विभागले पनि अनुसन्धान थालेको थियाे ।
0 प्रतिकृया