दूरदराजका विपन्नको सेवा गर्न सांसद शर्मा स्वास्थ्यकर्मी सहित बैतडीमा
एक्सन खबर
बैतडी । मोरङ निर्वाचन क्षेत्र नं. ३ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद डा.सुनिल शर्मा यतिबेला सुदुरपश्चिम प्रदेशको भ्रमणमा छन् । दूरदराजमा रहेका गरिब, विपन्न नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न सांसद शर्मा स्वास्थ्यकर्मीहरुको टोलीसहित सुदुरपश्चिम प्रदेश पुगेका हुन् ।
डा. शर्माको अगुवाईमा बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ मा आयोजित दुई दिने बृहद् निःशुल्क स्वास्थ्य शिविरमा करिब दुई हजार सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको छ । शिविरमा उक्त क्षेत्रका गरिब, विपन्न, असहाय तथा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका जनताको सहभागिता थियो ।
शिविरको उद्घाटन गर्दै संघीय सांसद डा. शर्माले दुरदराजका जनताले पनि सहजरुपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्नेमा आफु रहेकोले निःशुल्क स्वास्थ्य शिविर ल्याइएको बताए । शिक्षा, स्वास्थ्य जस्ता विषय राज्यको प्राथमिकतामा पर्नुपर्ने भएपनि सत्तामा रहेकाहरुसँग स्पष्ट भिजन नभएको उनको भनाई छ ।
शिविरमा आएका मध्ये १०३ जनाको शल्यक्रिया शल्यक्रिया गर्नुपर्ने देखिएकोमा डा. शर्माले उनीहरुको शतप्रतिशत निःशुल्क उपचार गर्ने घोषणा गरे । ‘शिविरमा स्वास्थ्य जाँच गराउँदा अप्रेसन गर्नुपर्ने व्यक्तिहरुको सम्पूर्ण स्वास्थ्य उपचार निःशुल्क गर्ने घोषणा गर्दछु ।’ डा.शर्माले काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा उल्लेखित बिरामीको निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् ।
सांसद शर्माले सो क्रममा एक लाख रुपैयाँको अक्षयकोष समेत घोषणा गर्दै एसईईमा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने एक छात्र र एक छात्रालाई निरन्तर पुरस्कृत गरिने बताए ।
स्वास्थ्य निर्देशनालय डोटी र केदार संस्कृति संरक्षण समाज दोगडाकेदार बैतडीको आयोजनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ९ सय ४२ बिरामीको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १८७ जनाको ईसीजी, ३२७ जनाको ल्याब परीक्षण, ३४७ जनाको भिडियो एक्सरे गरिएको थियो । भने ४९ जनाको दाँत खोलिएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरमा बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, वरिष्ठ प्रहरी उपरीक्षक दीपक गिरी, छोगडा केदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्की, नोवेल मेडिकल कलेजकी प्रबन्ध निर्देशक इन्दीरा शर्मा, पिपुल्स डेण्टल कलेज एण्ड हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. भीमबहादुर चन्द समेतको उपस्थिति रहेको थियो ।
सांसद शर्माको टोलीले फागुन २३ गते दार्चुला, २४ गते बैतडीको पाटन, २५ गते डडेलधुराको थुरामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने बताइएको छ । डा. शर्माले केएमसी तथा नोवेल शिक्षण अस्पतालसँगको सहकार्यमा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आइरहेका छन् ।
0 प्रतिकृया