सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर दार्चुलामा, एकै दिन २ हजार ३ सय बढीको उपचार
काठमाडौं । स्वास्थ्यकर्मीको टोलीसहित सुदुरपश्चिम भ्रमणमा रहेका नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्मा दार्चुला पुगेका छन् । मंगलबार दार्चुलामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजका चिकित्सकहरुले २ हजार तीन सय बढी विरामीको निःशुल्क स्वास्थ्य जाँच गरे ।
शैल्यशिखर नगरपालिकाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरको प्रमुख अतिथी नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडु रहेका थिए । स्वास्थ्य शिविरको उद्घाटन सांसदद्वय डा. शर्मा र बडुले संयुक्त रुपमा गरेका थिए । शिविरलाई संवोधन गर्दै सांसद शर्माले दूरदराजमा रहेका जनताको सेवा गर्न आफुले निःशुल्क स्वास्थ्य शिविर लिएर आएको बताए । स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने मान्यता आफ्नो रहेको जिकीर गर्दै सांसद शर्माले राजनीति र समाजसेवा एकसाथ अगाडी बढाउनु पर्नेमा जोड दिए ।
शिविरमा २ हजार ३ सय ६४ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा १९७ जनाको इसिजी, ४०१ जनाको ल्याब परीक्षण, ३८५ जनाको भिडियो एक्सरे, १६४ जनाको इको गरिएको छ । साथै, १०३ जनाको दाँत खोलिएको केएमसीका जनरल मेनेजर दाहालले जनाए ।
निःशुल्क स्वास्थ्य शिविरमा उपचार गराउन सो नगरपालिका भित्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अशक्तहरुको बाक्लो उपस्थिति रहेको थियो । आफ्नो जिल्ला र प्रदेश भन्दा बाहिरबाट सांसद विशेषज्ञ डाक्टरसहित आफ्नो गाउँघर आएकोमा सो क्षेत्रका नागरिकहरुले खुसी व्यक्त गर्दै डा. शर्मालाई आशिर्वाद समेत दिएका थिए ।
निःशुल्क अपरेशन गर्ने घोषणा
सांसद शर्माले निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउँदा अपरिेशन गर्नुपर्ने १४६ बिरामीलाई निःशुल्क अपरेशन गर्ने घोषणा गरेका छन् । ‘यस स्वास्थ्य शिविरमा आउनु भएका गम्भिर प्रकारका विरामीको अपरेशन गर्नका लागि केएमसी अस्पतालमा शतप्रतिशत निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गर्दछु ।’ कार्यक्रममा बोल्दै सांसद शर्माले भने ।
यसअघि बैतडीको दोगडाकेदार गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १०३ जना बिरामीको समेत निःशुल्क अपरेशन गरिदिने घोषणा गरेका थिए । स्वास्थ्य सेवा नपाएर दुरदराजमा उपचारको अभावमा बाँचिरहेका नागरिकलाई बचाउन डा. शर्माले निःशुल्क उपचारको घोषणा गरेका हुन् ।
शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीको सभापतित्वमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा नोवेल मेडिकल कलेजकी प्रबन्ध निर्देशक इन्दीरा शर्मा बराल, पिपुल्स डेण्टल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. भीमबहादुर चन्द, केएमसीका जनरल मेनेजर नारायण दाहाल समेतको उपस्थिति रहेको थियो ।
डा. शर्माको नेतृत्वको स्वास्थ्य टोलीले २४ गते बैतडीको पाटन र २५ गते धडेलधुरामा निःशुल्क स्वास्थ्य शिविर चलाउने कार्यतालिका रहेको छ ।
0 प्रतिकृया