डडेलधुरामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको घुईचो
काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २ हजार ५ सय बढी बिरामीको स्वास्थ्य जाँच गरिएको छ । बिहीबार डडेलधुरा जिल्ला अस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २ हजार ५ सय २७ जना बिरामीको स्वास्थ्य जाँच गरिएको हो ।
अमरगढी नगरपालिकाको आयोजना, काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १४४ जना अपरेशन गर्ने बिरामीहरुलाई रेफर पनि गरिएको छ । उनीहरुलाई सांसद शर्माले केएमसीमा शतप्रतिशत निःशुल्क उपचार गरिदिने घोषणा समेत गरेका छन् । अपरेशन गर्नुपर्ने बिरामीहरु आउँदो फागुन १२ गते केएमसी आउने छन् ।
शिविरमा १४७ जनाको इसिजी, २१३ जनाको ल्याब परीक्षण, १९५ जनाको भिडियो एक्सरे, ८३ जनाको इसिजी तथा ७७ जनाको दाँत खोलिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । जिल्लाका दुर्गम क्षेत्रबाट महिला, बालबालिका, अशक्त, ज्येष्ठ नागरिकहरु निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउन आएका थिए । गाउँमा स्वास्थ्य शिविर आएको छ भन्ने सूचना पाएपछि जिल्लाका दुर्गम क्षेत्रका जनताहरु उर्लिएका थिए ।
अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीको सभापतित्वमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको प्रमुख अतिथी सांसद शर्मा रहेका थिए । स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले दुरदराजमा रहेका जनतालाई घरदैलोमै विशेषज्ञ चिकित्सकसहित ल्याएर स्वास्थ्य शिविर गरिएको बताए ।
शिविरमा केएमसीका जनरल मेडिसिन, बाल रोग, स्त्री तथा प्रसुति, नसा तथा हाडजोर्नी, नाक कान घाँटी, छाला रोग, दन्त रोग, आँखा रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए ।
0 प्रतिकृया