नेपाल मेडिकल कलेजमा नयाँ विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण
एक्सन खबर
काठमाडौं । नेपाल मेडिकल कलेजले मेडिकल शिक्षातर्फ स्नातक तहमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण कार्यक्रम गरेको छ । आइतबार कलेजले एमविविएस २७ औं ब्याच, विडिएस १३ औं ब्याच, विएस्सी नर्सिङ १२ औं ब्याच तथा पहिलो वर्षका एमआइटी र एमएलटीका विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण सञ्चालन गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथी कलेजका अध्यक्ष डा.भोला रिजाल रहेका थिए । कार्यक्रममा बोल्दै डा.रिजालले कलेजले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै चिकित्सा शिक्षा अध्ययनका लागि नेपाल मेडिकल कलेज छनौट गर्ने विद्यार्थीहरुको सपना साकार पार्न कलेज लागि पर्ने बताए ।
विद्यार्थीले प्राप्त गर्ने सफलताले नै कलेजको नाम उँचो रहने भएकोले विद्यार्थीहरुको सिकाईमा कलेजले कुनै सम्झौता नगर्ने र विद्यार्थीले पनि अनुशासनमा रहेर कलेजको नाम उच्च बनाउने गरी अध्ययन गर्नुपर्नेमा जोड दिए । ‘तपाईहरुले प्राप्त गर्ने सफलताले नै कलेज अगाडी बढ्ने हो । नेपाल मेडिकल कलेजले विद्यार्थी प्रति गौरब गर्ने र विद्यार्थीले कलेजप्रति गौरब गर्ने वातावरण हुनुपर्छ ।’ डा.रिजालले भने ।
कार्यक्रममा बोल्दै कलेजका प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा आफैंमा महत्वपूर्ण शिक्षा भएकोले विद्यार्थीहरुले प्रत्येक पल मेहनत गर्नुपर्ने बताए । डाक्टर, नर्सलाई भगवानको दोश्रो रुपमा हेरिने भएकाले त्यसको गरिमा र मर्यादा जोगाउने गरी ज्ञान हासिल गर्न विद्यार्थीहरु लाग्नु पर्ने प्रा.डा.अन्सारीले जनाए । कलेज प्रशासन विद्यार्थीको सिकाई र बसाईमा सदैव लागि पर्ने भन्दै उनले विद्यार्थीहरुलाई पनि आफ्नो करियरप्रति फोकस भएर अनुशासनको पालना गरी अध्ययन गर्न सुझाए ।
कलेजका प्रिन्सिपल प्रा.डा.प्रमोदकुमार क्षेत्रीले मेडिकल शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुमा लगनशीलता, धैर्यता, अनुशासनको भूमिका महत्वपूर्ण रहने चर्चा गर्दै कलेज परिवार विद्यार्थीको सिकाईप्रति सदैव सकारात्मक रुपमा अगाडी बढ्ने बताए । विद्यार्थी जीवनमा कलेजको नियम र अनुशासनमा रहेर अध्ययन गर्ने विद्यार्थीहरुले सदैव सफलता प्राप्त गरेको भन्दै उनले विद्यार्थीको सफलता नै कलेजको सफलता हुने जिकीर गरे ।
कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले नेपालको मेडिकल शिक्षामा नेपाल मेडिकल कलेजको महत्वपूर्ण योगदान रहेको बताउँदै यहाँबाट उत्पादित जनशक्ति प्रति नगरपालिका गर्व गर्ने चर्चा गरे ।
कलेजकी डाइरेक्टर डा.साबिहा यासमिनले कलेज र विद्यार्थीको सम्बन्ध सदैव सुमधुर हुनुपर्ने भन्दै विद्यार्थीको पढाईलाई कसरी सहयोग पुग्छ सो वातावरण बनाउन कलेज तयार रहेको बताइन् । कलेजका बोर्ड अफ डाइरेक्टर सहनबाज अन्सारीले कलेज ब्यवस्थापन पक्ष सदैव विद्यार्थीको हितमा रहने तथा उनीहरुको पठनपाठनमा आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा कलेजका फ्याकल्टी विद्यार्थीहरुलाई कलेजको शैक्षिक, भौतिक तथा प्रयोगात्मक शिक्षण अवस्था, पाठ्यक्रम, कलेजको होस्टल, लाइब्रेरी, आर्थिक तथा प्रशासनिक अवस्थाका बारेमा जानकारी गराइएको थियो ।
0 प्रतिकृया