आजबाट नेकपा (एमाले) काे केन्द्रीय कमिटी बैठक
एक्सन खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सातौं केन्द्रीय कमिटीको बैठक आजबाट तीन दिन बस्दैछ । एमाले केन्द्रीय कमिटी बैठक फागुन ८, ९ र १० गते तीन दिनसम्म चल्ने छ ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ । बैठकमा ६ कार्यसूची तय भएकाे छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् ।
साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ । कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका एजेन्डाहरु पनि तय भएका छन् ।
गठबन्धनको सरकारले राष्ट्रिय हित, जनसरोकार र सुशासनका प्रश्नमा गम्भीर विचलन देखाएको ठहर गर्दै एमालेले जनपरिचालन गर्ने र दबाव दिने अभियानलाई पनि केन्द्रीय कमिटी बैठकको एजेण्डा बनाएको हो ।
त्यस्तै, मंसिर १४ देखि पुस २ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ गरेको र यात्राका क्रममा नागरिकस्तरबाट आएको सुझावमा आधारित रहेर मध्यपहाडी क्षेत्रको विकासको सम्भावनाबारे पनि केन्द्रीय कमिटीले दृष्टिकोण तय गर्ने कार्यसूची रहेको छ ।
गत बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो ।
0 प्रतिकृया