Follow us:


Follow us

१० कार्तिक २०८३, सोमवार
१० कार्तिक २०८३, सोमवार


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार बढी बिरामी लाभान्वित

एक्सन खबर
फागुन, १८, २०८०


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार बढी बिरामी लाभान्वित

काठमाडौं । प्रतिनिधि सभा सांसद डाक्टर सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविर गुल्मी पुगेको छ । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सक सहित निःशुल्क स्वास्थ्य शिविरमा हिँडेका सांसद शर्माको टोलीले इस्मा गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ३ हजार भन्दा बढी बिरामीको स्वास्थ्य जाँच गरेको छ ।

शुशिल कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा ३ हजार एक सय पचास बिरामीको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार शिविरमा १ सय १६ जनाको ईसीजी, २ सय ६६ जनाको ल्याब परीक्षण, ३ सय १८ जनाको भिडियो एक्सरे र १ सय २३ जनाको ईको गरिएको थियो । त्यस्तै ८७ जनाको दाँत खोलिएको र १ सय ९ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । रेफर गरिएका बिरामीहरुलाई काठमाडौं मेडिकल कलेजले निःशुल्क उपचार गरिदिनेछ ।

टोलीले १९ गते शनिबार अर्घाखाँची तथा २० र २१ गते रोल्पामा निःशुल्क स्वास्थ्य शिविर गर्ने केएमसीका जनरल मेनेजर दाहालले जानकारी दिए । यसअघि सोही स्वास्थ्य शिविरको टोलीले पाल्पाको रामपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथी पूर्वराज्यमन्त्री तथा संविधान सभा सदस्य अमर सिंह पुनले सांसद सुनिल शर्माले दूरदराजमा रहेका गरिब, विपन्न र असहायको स्वास्थ्योपचारमा पुर्याएको योगदानको प्रसंशा गरे । भूगोल र क्षेत्र नहेरी आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर आएर जनताको सेवा गर्ने सांसद शर्मा जस्तो व्यक्तिहरु मुलुकको लागि खाँचो भएको पनि उल्लेख गरे ।

इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काको सभापतित्वमा सम्पन्न स्वास्थ्य शिविरमा उपाध्यक्ष पावर्ती कुँवरले स्वागत मन्तब्य दिँदै गाउँपालिकामा बृहद् स्वास्थ्य शिविर ल्याइदिने सांसद शर्मालाई धन्यवाद दिइन् । केएमसीका जनरल मेनेजर दाहालले निःशुल्क स्वास्थ्य शिविर गर्नुको उद्देश्य, केएमसीका नविनतम स्वास्थ्य सेवाका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटा, लुम्विनी प्रदेशसभा सदस्यद्वय निमा गिरी, डिल्लीराज भुसाल, नेपाली कांग्रेस गुल्मी सभापति खिलकृष्ण पन्थी, गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, माओवादी गुल्मी इन्चार्ज विरबहादुर कार्कीको सहभागिता रहेको थियो ।





















0 प्रतिकृया