सुडालको थाकलमठमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ लाभान्वित
एक्सन खबर
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको थाकलमठ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ जना लाभान्वित भएका छन् । भक्तपुर विकास सहयोग संघको सहयोगमा थाकलमठ स्थित सरस्वती मा.वि मा आयोजित निःशुल्क आँखा तथा दन्त शिविर २०८० बाट ७३२ जना लाभान्वित भएका हुन् ।
मातृका आई फाउन्डेसनको सहयोगमा डा.कृष्ण कुमार धनकोटीको टिमले आँखाको सेवा प्रदान गरेका आयोजक भक्तपुर विकास सहयोग संघका अध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिए । उनका अनुसार आँखा शिविरमा ३५६ जनाले सेवा लिए । जसमा १६ जनाको मोतिविन्दुको समस्या देखिएको छ । मोतिविन्दुको निःशुल्क अपरेसन समेत संघले नै गरिदिने छ ।
यस्तै डाक्टर ग्रेस जोशीको नेतृत्वमा पाँच भन्दा बढी दन्त चिकित्सकले शिविरमा दन्त सेवा प्रदान गरेका थिए । दन्त शिविरबाट ३७६ जनाले सेवा प्राप्त गरेको जोशीले जानकारी दिए । शिविरमा ८३ वर्षका ज्येष्ठ नागरिक देखि २ वर्षका साना बाबु नानीहरूले समेत सेवा लिएका थिए । यस्तै शिविरमा आँखाका समस्या भएका बिरामीहरूलाई निःशुल्क रूपमा औषधी तथा चस्माको समेत व्यवस्था संस्थाले नै गर्ने छ ।
विद्यार्थी तथा समाजको सर्वाङ्गिण विकासका लागि यो शिविरले कोसेढुंगाको काम गरेको सरस्वती मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिब पुरीले बताए ।
0 प्रतिकृया