विश्व जल सप्ताह २०२४ प्रारम्भ
एक्सन खबर
काठमाडाैं । हरेक वर्ष मार्च १७ देखि २३ सम्म मनाइने विश्व जल सप्ताह अन्तर्गत नेपालमा पनि यस वर्षको जल सप्ताह आज देखि प्रारम्भ भएको छ । उक्त सप्ताहमा जल तथा उर्जा आयोगको नेतृत्वमा नेपालका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले पानीको न्यायोचित, सहभागिता मूलक तथा दिगो व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दछन् ।
यस वर्षको जल सप्ताहको प्रथम कार्यक्रमको उद्घाटन आज ललितपुरमा जल तथा उर्जा आयोगका सहसचिव कलानिधि पौडेलले गर्दै छब्बीस भन्दा बढी संस्थाहरूको संयोजन र सहकार्यमा हुने यस सप्ताह नेपालको संस्थागत सुमधुर सम्बन्ध र तालमेलको उदाहरण रहेको बताउनु भयो ।
उद्घाटन समारोहमा स्थानीय निकायहरूको प्रतिनिधित्व लहान नगरपालिकाका उपप्रमुख राम चलितर महताे, गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी र दैलेखबाट दिपक शाहीले गर्नुभयो । उद्घाटन समारोहको संयोजन वाटर एडका इन्जिनियर कविन्द्र पुडासैनीले गर्दा सहभागीलाई स्वागत द स्माल अर्थ नेपालका सल्लाहकार इन्जिनियर महेन्द्र बहादुर गुरुङ्गले गर्नुभयो ।
कार्यक्रमको प्राविधिक सत्र तथा विज्ञ छलफल सत्रहरूमा नेपालको पानी व्यवस्थापनमा लामो समय देखि लागिरहेका विद्हरूले आआफ्ना विचारहरू राख्नुभयो ।
विश्व जल सप्ताह अन्तर्गत आजै जल तथा मौसम विद् समाज नेपाल (सोहम) र द स्माल अर्थ नेपालले बाढी तथ्याङ्क विश्लेषण विषयमा दुई दिने तालिम प्रारम्भ गरेका थिए । सरकारी, गैरसरकारी तथा शैक्षिक संस्थाहरूका तीस जना सहभागी रहेको उक्त तालिम कार्यक्रममा प्रमुख स्रोत व्यक्ति इन्जिनियर ओम बहादुर राउतले जल विज्ञान सम्बन्धी तथ्याङ्कहरूको सही विश्लेषण कसरी गरिन्छ भनी सहभागी प्रशिक्षार्थीहरूलाई गणितीय उदाहरण सहित तालिम दिनुभयो ।
जल तथा मौसम विद् समाज नेपालका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठ र महासचिव डा. के.एन. दुलालले उक्त तालिम कार्यक्रममा प्रशिक्षार्थीहरूबाट उठेका केही प्राविधिक प्रश्नहरूको समाधान दिनुभएको थियो । आजै नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागले जलप्रवाह मापन, नदी सर्वेक्षण, उच्च जलप्रवाह अनुमान, थिग्रेनी र जल गुणको नमूना संकलन विषयमा पेश भएको प्रतिवेदन माथि विभागमा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
जल सप्ताहको दोस्रो दिन भोलि भूमिगत पानीको दिगो विकास तथा व्यवस्थापनका चुनौती र अवसरहरू विषयमा गोष्ठी हुने कार्यक्रम छ । सप्ताहको छैठौँ दिन मार्च २२ तारिखमा विश्व पानी दिवस र अन्तिम दिन मार्च २३ तारिखमा वर्ल्ड मेटियोरोलोजिकल डे मनाई विश्व जल सप्ताह सम्पन्न गर्ने कार्यतालिका छ ।
0 प्रतिकृया