Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


शिक्षाको गुणस्तर सुधार्न आधारभूत तहबाटै थालनी गर्नुपर्छ : मन्त्री चौधरी

एक्सन खबर
चैत, २९, २०८०


शिक्षाको गुणस्तर सुधार्न आधारभूत तहबाटै थालनी गर्नुपर्छ : मन्त्री चौधरी

काठमाडौं। शिक्षामा गुणस्तरीयता ल्याउन आधारभूत तहबाटै लगानी गर्न आवश्यक रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनुभएको छ । स्वर्गीय दुर्गा दाहालको ७२ औँ जन्म जयन्तीको सन्दर्भमा दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समिति धनकुटाले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

‘अझैपनि हाम्रो शिक्षा गुणस्तरीय छैन । पाठ्यक्रमहरू गुणस्तरीय छैनन् । तर पनि डम्बर चेम्जोङ जस्तो व्यक्तिहरू अमेरिकासम्म पुगेर पिएचडी गर्नु समाजका लागि निकै ठुलो कुरा हो’, मन्त्री चौधरीले भन्नुभयो, ‘आधारभूत शिक्षा आधारभूत विद्यार्थीले सिक्ने ‘चाइल्ड सेन्ट्रिक मेथोलोजी हो कि, टिचर सेन्ट्रिक हो’ त्यसमा हामीले ध्यान दिन आवश्यक छ ।

‘चाइल्ड सेन्ट्रिक मेथोलोजी’का सन्दर्भमा केही समय युनिसेफमार्फत काम गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अहिले पनि हाम्रा आधारभूत विद्यालयहरूमा पढाई हुने ‘कन्टेन्ट’हरू कमजोर रहेको छ । विद्यालयहरूको अवस्था पनि खराब छ । त्यसमा सुधार गर्नैपर्ने आवश्यकता छ ।’

अहिले विद्यालय शिक्षा ऐन संशोधन र परिमार्जन गर्न बनेको विधेयक संसद्‍मा टेबल भएर संशोधनका लागि छलफल भइरहेको उल्लेख गर्दै उहाँले संघीय शिक्षा ऐन आउन बाँकी नै रहेको बताउनुभयो । संघीय शिक्षा ऐन एकीकृत रुपमा तीन वटै तहको सरकारलाई समेट्ने गरी आउन आवश्यक रहेको समेत उहाँको भनाई थियो ।

अहिले शिक्षा स्थानीय तहलाई जिम्मा दिइएको अवस्था भएपनि त्यसलाई एकीकृत गरेर आगामी शिक्षा कस्तो बनाउने भन्ने हिसाबले शिक्षा ऐन आउनुपर्ने मन्त्री चौधरीको भनाई थियो । ‘अहिले हाम्रो शिक्षा पाठ्यक्रम केन्द्रित भएर कस्तो विद्यार्थी उत्पादन गर्ने भन्ने कुरामा केन्द्रित नभएर यो दल वा त्यो दल भन्दै राजनीतिमा हामी धेरै केन्द्रित हुन्छौं । तर त्यो गलत छ’, उहाँले भन्नुभयो, ‘भविष्यमा देश बनाउने त अहिलेको बच्चाले हो । त्यसकारण अबको शिक्षा ऐनमा गुणस्तरीय पाठ्यक्रम देखि लिएर गुणस्तरीय शिक्षक, पढाउने विधि जस्ता कुराहरू समेटेर स्पष्ट रुपमा आउनुपर्छ । शिक्षालाई गुणस्तरीय बनाउने हिसाबले हामी सबैले काम गर्न आवश्यक छ ।’

हरेक व्यक्तिमा बहु आयामिक क्षमता हुने गरेको भन्दै उहाँले हरेक व्यक्तिले पढ्ने, अध्ययन गर्ने, सिर्जना गर्ने फरक-फरक क्षमता रहने गरेको बताउनुभयो । त्यसकारण व्यक्तिको क्षमतालाई उभारिदिने ठाउँ हुनुपर्ने मन्त्री चौधरीको भनाई थियो ।

स्मृतिसँग आफ्नो पनि व्यक्तिगत भावना जोडिएको भन्दै मन्त्री चौधरीले इनोभेटिभ क्षेत्रमा काम गर्नेहरूलाई सम्मान गर्ने परिपाटीको प्रसंशा गर्नुभयो । आफ्ना स्वर्गीय श्रीमान् दिनेश चौधरीको स्मृतिमा प्रतिष्ठान स्थापना गरी सामाजिक क्षेत्र, दिनेश स्मृति पोल टेक्निकल र आधारभूत सामुदायिक विद्यालयमार्फत शिक्षा क्षेत्रमा काम गरिरहेको मन्त्री चौधरीले बताउनुभयो ।

मन्त्री चौधरीले समाजलाई सकारात्मक कामहरू छाडेर जानेहरूलाई समाजले मृत्युपछि पनि वर्षौंवर्ष सम्झिरहने समेत बताउनुभयो । एउटा मान्छेको भिजनले धेरै काम गर्ने बताउँदै मन्त्री चौधरीले भन्नुभयो, ‘म समाज कल्याण परिषदमा काम गर्थे । तर दिनेश जीले तिमीले यो काम गरेमा भविष्यमा सचिवसम्म पुगौला । तर गाउँ फर्किएर गयौँ भने भगबती चौधरी र दिनेश चौधरी जस्ता हजारौँ व्यक्तिको उत्पादन गर्न सक्छौ भन्नुहुन्थ्यो । त्यसैले मैले जागिरबाट राजीनामा दिएर गाउँ फर्किए र आज हजारौँ जनालाई रोजगारी दिन सक्षम भएको छु ।’

राजनीतिक रुपमा पनि निरन्तरको संघर्षले नै आजको स्थानमा पुग्न सफल भएको उहाँको भनाई थियो ।

त्यस अवसरमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको विभागीय प्रमुख डाक्टर डम्बर चेमजोङलाई सम्मान गरिएको थियो । सम्मान ग्रहणपछि बोल्दै चेम्जोङले धनकुटाको सामान्य गाउँमा पढेर आएको व्यक्तिले अमेरिकाबाट विद्यावारिधि र नर्वेबाट एमफिल गर्न पाउनु निकै ठुलो कुरा रहेको बताउनुभयो । जागिर पछिको जीवन आफ्नै गाउँमा गएर आधारभूत तहको शिक्षामा लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । त्यस्तै उहाँले त्यस क्रममा दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समिति धनकुटालाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गर्नुभएको थियो ।

स्वर्गीय दाहाल धनकुटामा शिक्षक आन्दोलन तथा सहकारी अभियानका अगुवा हुनुहुन्थ्यो ।














0 प्रतिकृया