Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


मानव सेवा नै सर्वोत्तम सेवा होस् मन्त्री भगबती चौधरी

एक्सन खबर
बैशाख, ११, २०८१


मानव सेवा नै सर्वोत्तम सेवा होस् मन्त्री भगबती चौधरी

काठमाडौं । मानव सेवा नै सर्वोत्तम सेवा भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिले आज नागार्जुन १ काठमाडौँ स्थित मानव सेवा आश्रममा आयोजना सहयोग हस्तान्तरण तथा खाना खुवाउने कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो ।

कोही नभएकाहरूको अभिभावक बनेर आश्रमले ठुलो मानवीय योगदान दिएको भन्दै उहाँले भन्नुभयो, ‘मानव सेवा आश्रममा आश्रित रहनुभएका हाम्रा आदरणीय दाजुभाइ दिदीबहिनी आमाबुवा सबैमा कृतज्ञता व्यक्त गर्दछु । आश्रमका संस्थापक रामजी अधिकारीको संकल्पले यति धेरै व्यक्तिलाई सेवा दिने, आश्रय दिने, खुवाउने, संरक्षण दिने काम गर्नुभएको छ भने, तपाईं हामी सबैले सोचौँ । हामीले पनि आफ्नो तर्फबाट गर्न सक्ने सेवामा योगदान गरौँ ।’

एक जनाको संकल्पले धेरै बेसहारा, पीडित व्यक्तिहरूले सेवा पाइरहेको भन्दै मन्त्री चौधरीले एक दिनको खाना तथा अन्य सामग्री सहयोग गर्ने नेपाल निजामती कर्मचारी संगठनलाई समेत धन्यवाद ज्ञापन गर्नुभयो । ‘आज नेपाल निजामती कर्मचारी संगठनका साथीहरू मिलेर यहाँहरूलाई एक दिनको भएपनि केही खाना जुटाइदिऊँ भन्ने धारणाले व्यवस्थापन गर्नुभएको छ । त्यसकालागि निजामती कर्मचारी संगठनको अर्थ विभागका साथीहरूलाई धन्यवाद दिन चाहन्छुु’, उहाँले भन्नुभयो, ‘मानव सेवा आश्रमका देशभर गरी २३ वटा शाखामा १ हजार ६ सय ६७ जनालाई सेवा प्रदान गरिएको छ । देशभरका विभिन्न ठाउँमा यस्ता शाखा स्थापना गरी तपाईंहरूले गरिरहनुभएको कार्य निकै ठुलो मानव धर्म, मानव उपकारको कार्य हो ।’

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय सेवाका निम्ति सडक मानव मुक्त अभियानको थालनी गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सडक मानव मुक्त गर्नुपर्छ भन्ने ल्याउनुभएको थियो । यहाँहरूले पनि धेरै सहकार्य गर्ने गरी जुन काम गर्नुभएको छ । त्यसका लागि संस्थापक सहित सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु ।’

आफू अहिले सरकारको संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक अपांगता भएका व्यक्ति तथा यौनिक अल्पसंख्यक समुदाय हेर्ने मन्त्रालयको जिम्मेवारीको रहेको भन्दै उहाँले त्यस्ता व्यक्तिहरूको पीडामा मलहम लगाउँदै उनीहरूको संरक्षण तथा उनीहरूको अधिकार सम्पन्न गराउने कार्यमा लागिरहेको बताउनुभयो ।

मन्त्रालय अन्तर्गत सरकारले विभिन्न ऐन, कानून पनि ल्याएको भन्दै उहाँले विभेदमा परेका अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा यौनिक अल्पसंख्यकहरूलाई अधिकार सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको जिकीर गर्नुभयो । तर, कानूनमा अझै पनि केही कमी रहेको भन्दै उहाँले ती कमीलाई पुरा गर्दै सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘तपाईँहरूका निम्ति बनाइएका ऐन, कानूनमा भएका व्यवस्थालाई कार्यान्वयन तहमा ल्याउनका लागि अझै पनि केही कमी छन् । ती कमीहरूलाई पुरा गर्न अथवा सेवाग्राहीसम्म सरकारको सेवा पुर्‍याउनका लागि तपाइहरूलाई ठाउँ दिएर अगाडि बढाइनेछ’, मन्त्री चौधरीले भन्नुभयो ।

मुलुक सात प्रदेशको संरचना व्यवस्थामा रहेको भन्दै उहाँले यस्ता सेवाहरूलाई सबै क्षेत्रमा पुर्‍याउन आवश्यक रहेको र त्यसमा राज्य सँगसँगै रहेको बताउनुभयो । उहाँले सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । त्यस अवसरमा मन्त्री चौधरीले आश्रमको अवलोकन समेत गर्नुभएको थियो ।

नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिको तर्फबाट मानव सेवा आश्रममा रहेका २२६ जना व्यक्तिहरूका लागि एक छाक खाना बराबर लाग्ने २० हजार रुपैयाँ नगद र एक लाख तीन हजार नौ सय १० रुपैयाँ बराबरको चामल, दाल, नुन, तेल, चप्पल, डाइपर लगायतका सामग्री मन्त्री चौधरीले हस्तान्तरण गर्नुभएको थियो ।
















0 प्रतिकृया