सांसद सुनिल कुमार शर्माद्वारा बाजुराको दुई पालिकामा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । सांसद सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरले बाजुराको दुई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । बाजुराको हिमाली गाउँपालिका र स्वामी कार्तिक गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १४ सय ७५ जनाको स्वास्थ्य जाँच गरिएको छ ।
काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोलीले दुई पालिकाका जनताको निःशुल्क स्वास्थ्य जाँच गरेको हो । शिविरमा १९५ जनाको इसिजी, २१३ जनाको ल्याब परीक्षण, १६६ जनाको भिडियो एक्सरे, ८९ जनाको इको गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा आएका मध्ये ११४ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको जनरल मेनेजर दाहालले बताए ।
शिविरको उद्घाटन गर्दै कांग्रेस सांसद डा. सुनिल कुमार शर्माले दुर्गम क्षेत्रका गरिब, विपन्न नागरिकको सेवाका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । राज्यको उपस्थिति नभएको दुर्गम क्षेत्रका जनतालाई व्यक्तिगत रुपमा केही गर्न सकिन्छ कि भन्ने अभिलाषाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको उनको भनाई छ ।
स्वामी कार्तिक गाउँपालिकाका अध्यक्ष भरत रोकायाको सभापतित्वमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा हिमाली गाउँ पालिकाका अध्यक्ष गोविन्द मल्लले स्वागत मन्तव्य राखेका थिए भने, सुवास पोखरेल, केएमसीका जनरल मेनेजर नारायण दाहाल, बाजुराका पूर्वसांसद रिता शाही, पूर्वमन्त्री जनकराज गिरी, कमल बुढा लगायतले शिविरको उपादेयता, शिविरले दिने सेवा लगायतका बारेमा बोलेका थिए ।
0 प्रतिकृया