विश्व उच्च रक्तचाप दिवसको अवसरमा नोवेलको प्रभातफेरी
एक्सन खबर
विराटनगर । विश्व उच्च रक्तचाप दिवसकाे अवसरमा नाेवेल शिक्षण अस्पतालले प्रभातफेरी निकालेकाे छ । विश्वभर मे १७ मा विश्व उच्च रक्तचाप दिवस मनाइन्छ । उच्च रक्तचापको जोखिम, यसलाई रोक्न अपनाउनु पर्ने विधी सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले यो दिवस मनाइने गरिएको हो ।
उच्च रक्तचाप सम्बन्धि जनचेतना फैल्याउने उद्देश्यले जेठ ४ गते विहान महेन्द्रचोकबाट तिनपैनी सम्म प्रभातफेरी निकालेकाे हाे । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक तथा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपालले विराटनगर महानगरपालिका मेयर नागेश कोइरालालाई खादा र फुलको गच्छाले स्वागत गरेपछि सुरु भएको प्रभातफेरी कार्यक्रममा नोवेलका चिकित्सक, कर्मचारी, रेजिडेण्ट चिकित्सक, इन्टर्न चिकित्सक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रभातफेरीमा पत्रकार, समाजसेवी र स्थानिय बासिन्दाहरु पनि समावेश थिए ।
महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी तिनपैनी चोकमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा प्रा. डा. राजेश नेपालले विश्व उच्च रक्तचाप दिवसको विषयमा प्रकाश पारेका थिए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उच्च रक्तचाप सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले नोवेलले गरेको प्रभातफेरी प्रति डा. राजेश नेपाल सहित नोवेल टिमलाई धन्यवाद व्यक्त गरेका थिए । मन्तव्य व्यक्त गर्दै उनले विराटनगर महानगरपालिकाले पनि जनचेतना मुलक कार्यक्रमहरुमा सहकार्य गर्ने बताए ।
विश्व भरिनै मानिसको मृत्युको प्रमुख कारणहरु मध्ये उच्च रक्तचाप एक नम्बरमा रहेको छ । मानिसको बदलिदो दैनिकी, खानपान, पर्याप्तमात्रामा नसुत्ने र तनावयुक्त जीवनले उच्च रक्तचापको जोखिमलाई बढाउने गरेको छ । नेपालको सन्दर्भमा हरेक चार जना मध्ये एक जनालाई उच्च रक्तचाप रहेको पाइएको छ ।
उच्च रक्तचापको कारण हृदयघात, मस्तिष्कघात हुने, शरीरको विभिन्न अङ्गमा समस्या आउने, हातखुट्टाका नशाहरु बन्द भएर अङ्गभङ्ग हुने, आँखाको दृष्टी कम हुने, मृगौलामा समस्या आउने, यौन दुर्वलता हुने जस्ता विभिन्न समस्याहरु आउने गर्दछ ।
नियमितरुपमा रक्तचाप नाप्ने गरिएमा उच्च रक्तचाप भए नभएको वा औषधी सेवन गरी रहेका व्यक्तिहरुको रक्तचापको अवस्था थाहा पाउन सहज हुन्छ र समयमा नियन्त्रण गर्न सकिन्छ । त्यसैले यस बर्षको विश्व उच्च रक्तचाप दिवसको नारा पनि “तपाईको रक्तचाप सही ढंगबाट नाप्नु होस् । यसलाई नियन्त्रण गर्नुहोस् र दीर्घायु बन्नुहोस् ।” भन्ने रहेको छ ।
0 प्रतिकृया