मेडिकल शिक्षामा देखिएका समस्या बारे त्रिविका उपकुलपतिसँग छलफल
एक्सन खबर
काठमाडाैं । नेपालकाे मेडिकल शिक्षामा देखिएका विविध समस्याहरू बारे सोसाइटी फर टीयू एफिलेटेड हेल्थ इन्स्टिट्यूसन नेपाल सम्बद्ध ११ क्याम्पसका प्रतिनिधिहरुले त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालसँग छलफल गरेका छन् । त्रिविका नवनियुक्त उपकुलपति प्रा.डा. बरालसँग भेटगरी उनीहरूले चिकित्सा शिक्षासँग सम्बन्धित महत्वपूर्ण बिषयहरुमा छलफल गरी समाधानका उपायहरुबारे समेत गहन छलफल गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त क्याम्पसहरुले चिकित्सा शिक्षा आयोगले बिद्यार्थी भर्नाको लागि अपनाएको लामो र झन्झटिलो प्रकृयाबाट कक्षाकोठाहरुमा देखिएको बिद्यार्थी अभाव, शैक्षिक क्यालेण्डरको प्रभावकारी कार्यान्वयन, विश्वबजार र प्रतिस्पर्धी अनकुलको पाठयक्रममा शंसोधन, एकद्धार प्रणालीबाट शुल्क लिने व्यवस्था, बिद्यार्थीहरु बिदेश पलायनबाट सिर्जित समस्याहरु र रोजगारका अवसरहरु र्सिजना गर्ने बिषयहरु र समाधानका उपायहरुका बारेमा छलफल गरिएकाे छ ।
संस्थाका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीका अनुसार नेपाली मेडिकल कलेजहरूमा हरेक वर्ष विद्यार्थीकाे संख्या घट्दाे क्रममा रहेकाे र राज्यले उचित रणनीति अपनाउन नसक्दा कलेजहरू धरासायी बन्ने खतरा रहेकाेले विश्वविद्यालयलाइ बेलैमा सचेत गराइएकाे हाे । ‘सरकारले अपनाएका नीतिहरू समय सापेक्ष व्यवहारिक र व्यवसायी मैत्री भएन, विद्यार्थीहरू घटिरहेका छन् । नेपालकाे स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवामा नीजि क्षेत्रले पुर्याएकाे याेगदान लाई राज्यले अनदेखा गरेपछि ध्यानाकर्षण गराएका हाैं ।’ अध्यक्ष प्रा.डा. अन्सारीले भन्नुभयाे ।
उपकुलपति प्रा.डा. बरालले गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा संस्थाहरुले पुर्याएकाे योगदानको चर्चा गर्दै समस्या समाधानमा आफु सकारात्मक रहेको धारणा व्यक्त गर्नु भयो । विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान र निजी लगानीबाट सञ्चालित सम्वन्धन प्राप्त संस्थाहरुको आपसी समन्वय तथा सहकार्यबाट मेडिकल शिक्षामा देखिएका समस्याहरु समाधान हुने उपकुलपतिले विश्वास व्यक्त गर्नुभयो ।
0 प्रतिकृया