Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


नेपाल मेडिकल कलेजसहित १२ संस्थालाई स्वास्थ्य बीमाको स्वीकृति

एक्सन खबर
जेठ, १८, २०८१




नेपाल मेडिकल कलेजसहित १२ संस्थालाई स्वास्थ्य बीमाको स्वीकृति

काठमाडौं । नेपाल मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । स्वास्थ्य बीमा बोर्डले नेपाल मेडिकल कलेज सहित १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पतालसँग स्वास्थ्य बीमा कार्यक्रम गर्न सम्झौता गरेको हो ।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सेवाग्राहीलाई सहज उपचार सेवा प्रदान गर्न नेपाल मेडिकल कलेजमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको हो । काठमाडौंको उत्तरपूर्वी भेगका जनतालाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको कलेजमा अब स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएकाले सेवा लिन सक्छन् ।  

बोर्डका अध्यक्ष डा. गुणराज लोहनीका अनुसार आगामी आर्थिक वर्षबाट लागू हुने गरी बीमा कार्यक्रम सञ्चालन स्वीकृति दिइएको हो । काठमाडौं उपत्यकाका चार र बाहिरका ६ वटा मेडिकल कलेजलाई स्वास्थ्य बीमा सेवा सञ्चालन गर्न स्वीकृति दिइएको हो ।

बीमा कार्यक्रममा सूचीकृत भएका अस्पतालहरूमा नेपाल मेडिकल कलेजसँगै काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगल काठमाडौँ, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल, सितापाइला र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को छन् । उपत्यका बाहिरका मेडिकल कलेजहरूमा बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगर, विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरनी रूपन्देही र नेपालगञ्ज मेडिकल कलेज बाँकेलाई पनि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको स्वीकृति दिइएको छ ।

यस्तै २ वटा आँखा अस्पताललाई पनि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिइएकोमा विर्ताज्योति आइकेयर प्रा.लि., झापा र दृष्टि आई अस्पताल, पोखरामा रहेका छन् ।  ‘बोर्डले यी अस्पतालहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न पहिला नै सैद्धान्तिक निर्णय गरेको थियो, तर अहिले कागजपत्र पुगेपछि १ साउनबाट सेवा दिन सक्नेगरी सम्झौता गरेका हौं,’ स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीले भने ।

बोर्डका अनुसार हालसम्म ४७२ वटा सेवा प्रदाय स्वास्थ्य संस्थासँग बीमा कार्यक्रम सम्झौता भएको छ । नीजि मेडिकल कलेज र अस्पतालबाट समेत सेवाग्राहीले स्वास्थ्य बीमा पाउँदा स्वास्थ्य बीमा प्रभावकारी हुने विस्वास लिइएको छ ।













0 प्रतिकृया