Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारलाई केएमसीमा सहुलियत शुल्कको स्वास्थ्य उपचार

एक्सन खबर
जेठ, २८, २०८१


कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारलाई केएमसीमा सहुलियत शुल्कको स्वास्थ्य उपचार

काठमाडौं । संघिय सांसद डा. सुनिल कुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरुका आश्रित परिवार सदस्यहरुका लागि विरामी भई उपचार गर्दा काठमाडौं मेडिकल कलेजमा विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाई दिएका छन् ।

कतार स्थित नेपाली राजदुताबासमा भएको एक कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार र नेपाली जनसम्पर्क समिति कतार बीच कतार स्थीत नेपाली राजदुत महामहिम डा. नरेश विक्रम ढकालज्यूको समुपस्थितिमा काठमाडौं मेडिकल कलेजले सम्झौता गरेको हो ।

सम्झौता अनुसार अव कतारमा बसोबास गर्दै आएका सम्पूर्ण गैरआवासीय नेपालीहरु तथा बैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्य गर्दै आएका नेपाली श्रमिकहरु उपचारका लागि केएमसी आँउदा अस्पताल सेवामा ५० प्रतिसत छुट हुने छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट सिधै सिनामंगल स्थित केएमसी उपचारकालागि आउने क्रममा केएमसीको एम्बुलेन्स प्रयोग गरिएमा एम्बुलेन्स शुल्क पनि पाँच सय मात्र गरिएको सांसद शर्माको भनाई छ ।

‘कतार भ्रमणको शिलशिलामा त्यहाँ रहनु भएका गैरआवासीय साथीहरु र कतारमै कार्य गर्दै आउनु भएका नेपाली साथीहरु सँगको छलफलमा कतारमा रहेका करिब ३ लाख ६६ हजार नेपाली कामदारहरुको अवस्था, बस्दा रहदा आई पर्ने रोगको उपचारमा हुने आर्थिक समस्या र परिवारको सदस्यहरुको उपचारलाई सहज बनाउन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतार संग सहमति गर्ने निर्णय भयो’ डा. शर्माले बताए ।



सम्झौता पत्रमा उल्लेखित सुविधाहरु २०८१ असार मसान्त सम्म कायम रहने छ भने कतारमा कार्यरत नेपाली श्रमिकको आश्रित परिवार अर्थात आमा, बुबा, श्रीमान/श्रीमति, अविवाहित छोरा छोरीलाई समेत केएमसीले अस्पताल सेवामा १५ प्रतिशत छुट उपलव्ध गराउने छ । यस अन्तर्गत सुविधा लिन आँउदा परिचय पत्र र नाता प्रमाणित हुने कागजात लिएर आउनु पर्ने हुन्छ ।

उपचार सेवा सम्बन्धी सम्झौता पत्रमा केएमसीको तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्मा र सल्लाहकार इन्दिरा शर्मा (बराल) ले  हस्ताक्षर  गरेका थिए भने गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतारका तर्फबाट परिषद्का अध्यक्ष रमेश भट्ट र प्रथम उपाध्यक्ष कृष्ण पन्थीले हस्ताक्षर गरेका थिए । त्यस्तै नेपाली जनसम्पर्क समिति कतार सँग भएको सम्झौतामा समितिका सभापति मो. अजिज अलि र महामन्त्री केदार भुषालले हस्ताक्षर गरेका थिए ।

डा. सुनिल शर्मा कै नेतृत्वमा केएमसी र नोवेल शिक्षण अस्पतालले पूर्वी नेपाल देखि पश्चिम नेपालको दुरदराजका स्थानहरुमा विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । शिविरमा उपचारको क्रममा रिफर भएका विरामीहरुको के एम सी र नोवेलमा निःशुल्क र सहुलियतमा उपचार हुने व्यवस्था पनि उनले गर्दै आएका छन् भने विभिन्न संघ सस्थाहरु संग सम्झौता भई सहुलियतमा ती संघ सस्थाहरुमा आवद्ध विरामीहरुको सहुलियतमा उपचार पनि हुँदै आएको छ । 













0 प्रतिकृया