सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट साढे नौ सय बढी लाभान्वित
एक्सन खबर
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद सुनिल कुमार शर्माले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर सिन्धुली पुगेको छ । काठमाडौं मेडिकल कलेजका चिकित्सक सम्मिलित निःशुल्क स्वास्थ्य शिविरबाट साढे नौ सय बढी सर्वसाधारण लाभान्वित भए ।
कारितास नेपालसँगको सहकार्यमा महिन्द्रझ्यागढी प्राथमिक स्वास्थ्य चौकी हरिहरगढीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९६३ जनाको स्वास्थ्य जाँच गरिएको छ । शिविरमा १०३ जनाको इसिजी, १४७ जनाको ल्याब परीक्षण, १२१ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ३५ जनाको दाँत खोलिएको छ भने, ४३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
शिविरमा केएमसीका स्वास्थ्यकर्मीहरुले नाक कान घाँटी, स्त्री रोग, बाल रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, आँखा राेग लगायतका सेवाहरु दिएका थिए । सांसद डाक्टर सुनिल शर्माद्वारा जनतालाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निःशुल्क स्वास्थ्य शिविर चलाएका हुन् ।
शिविरबाट अहिलेसम्म देशका सातै प्रदेशबाट लाखौं जनता लाभान्वित भइसकेका छन् । सांसद शर्माले सामाजिक सेवाका रुपमा निःशुल्क स्वास्थ्य शिविर चलाइएकोले शिविरलाई निरन्तरता दिइरहने बताएका छन् ।
0 प्रतिकृया