बारा र पर्साका सशस्त्र प्रहरी बललाई नेशनल मेडिकल कलेजमा उपचार गर्दा छुट
एक्सन खबर
बारा । नेशनल मेडिकल कलेजमा सशस्त्र प्रहरी बल (एपीएफ), उनका परिवार र सेवा निवृत अधिकारीहरूले स्वास्थ्य उपचारमा विभिन्न छुट र सुविधा पाउने भएका छन् । सशस्त्र प्रहरी बल बारा र पर्साका कर्मचारीहरू, उनीहरूका परिवारहरू र सेवानिवृत्त अधिकारीहरूलाई स्वास्थ्य सेवाहरूमा पर्याप्त लाभ र छुटहरू प्रदान गर्न एमओयू गरिएकाे हाे ।
२ दिन अगाडी कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले बारा र पर्सा जिल्लाका सशस्त्र प्रहरी बल (एपीएफ) का अधिकारीसँग एमओयू गर्दै नेशनल मेडिकल कलेजले प्रदान गर्ने विभिन्न प्रकारका स्वास्थ्य सेवाहरूबाट सशस्त्र प्रहरी बलका प्रहरी, कर्मचारी, सेवानिवृत अधिकारीहरूले लाभ लिन सक्ने बताए । कलेजले प्रदान गर्ने स्वास्थ्य सेवा मधेस प्रदेशकै उत्कृष्ट रहेकाे बताउँदै राष्ट्र सेवकहरूले त्यसकाे लाभ लिन सकुन् भनेर एमओयू गरिएकाे जिकीर गरे ।
‘हाम्रो सुरक्षा सुनिश्चित गर्न सशस्त्र प्रहरी बलले गरेको अथक प्रयास र बलिदानलाई हामी सम्मान गर्छौं । यो सहयोग हाम्रो कृतज्ञताको संकेत र कल्याणको लागि प्रतिबद्धता हो । पहुँचयोग्य र किफायती स्वास्थ्य सेवा प्रदान गरेर, हामी हाम्रो समुदायको सेवा गर्नेहरूको स्वास्थ्य र कल्याणलाई समर्थन गर्ने आशा गर्छौं।’ प्रबन्ध निर्देशक अन्सारीले भनेका छन् ।
यो सम्झौताले एपीएफ सदस्यहरूको जीवनको गुणस्तर सुधार गर्न सहयाेग पुग्ने अपेक्षा गरिएकाे छ । एमओयूले बारा र पर्सामा कार्यरत सशस्त्र प्रहरीहरूलाइ स्वास्थ्य उपचारका लागि टाढा जानु नपर्ने भएकाे छ ।
0 प्रतिकृया