नेकका पूर्वविद्यार्थी भौतिक पूर्वाधार विकास मन्त्री
एक्सन खबर
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)का पूर्वविद्यार्थी बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री भएका छन् । नेपाली कांग्रेसका बहादुरसिं लामा नेतृत्वको प्रदेश सरकारमा नेकका पूर्वविद्यार्थी अमनकुमार मास्के भौतिक पूर्वाधार मन्त्री भएका हुन् ।
आर्किटेक्चर इन्जिनियर मास्के सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना) का सदस्य समेत हुन् । उनी बुधबार गठित प्रदेश सरकारमा मन्त्री भएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज पद तथा गोपनीयताको शपथ लिँदै १० सदस्यीय मन्त्रीपरिषद् समेत गठन गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका थिए ।
मुख्यमन्त्री लामा नेतृत्वको मन्त्रिपरिषद्मा एमालेका ६ र कांग्रेसका तीन मन्त्री छन् । एमालेका प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी कांग्रेसबाट कुन्दनराज काफ्ले, मधुकुमार श्रेष्ठ र श्याम खड्का मन्त्री बनेका छन् । उनीहरुका लागि मन्त्रालय तोकिएको छैन । मुख्यमन्त्री लामाले कांग्रेसबाट थप तीन जना मन्त्री नियुक्त गरी एकै पटक जिम्मेवारी तोकिने जानकारी दिएका छन् ।
0 प्रतिकृया