शान्ति सेवा गृहमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । सांसद सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य टोलीले काठमाडौं तिलगंगास्थित शान्ति सेवा गृहमा निःशुल्क स्वास्थ्य जाँच गरेको छ । काठमाडौं मेडिकल कलेज (केएमसी)का विशेषज्ञ चिकित्सकहरुले शान्ति सेवा गृहमा निःशुल्क स्वास्थ्य शिविर गरेका हुन् ।
शिविरमा ९३१ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १०३ जनाको भिडियो एक्सरे, ८६ जनाको इसिजी, १०९ जनाको ल्याब परीक्षण गरिएको तथा २७ जनाको दाँत निकालिएको छ । शिविरमा स्वास्थ्य जाँच गराएका मध्ये ३३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको केएमसीका जनरल मेनेजर दाहालले जानकारी दिए ।
शिविरमा नाक, कान घाँटी, आँखा रोग, दन्त रोग, बाल रोग, स्त्री तथा प्रसुति, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी सम्बन्धी सेवाहरु दिइएको थियो । केएमसीले सांसद डाक्टर सुनिलकुमार शर्मासँगको सहकार्यमा सामाजिक उत्तरदायित्व अन्तरगत नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविरहरु चलाउँदै आइरहेको छ ।
शिविरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब, असहाय र विपन्न वर्गका नागरिक बढी लाभान्वित भइरहेको सांसद शर्माले बताएका छन् ।
0 प्रतिकृया