Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


समाजमा रहेका गलत कुरालाई मिडियाले बाहिर ल्याउनुपर्छः पूर्वमन्त्री भगबती चाैधरी

एक्सन खबर
साउन, २७, २०८१


समाजमा रहेका गलत कुरालाई मिडियाले बाहिर ल्याउनुपर्छः पूर्वमन्त्री भगबती चाैधरी

सुनसरी । सञ्चारमाध्यमले समाजमा रहेका गलत कुरालाई बाहिर ल्याउनुपर्ने पूर्वमन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले बताउनुभएको छ । सुनसरीस्थित बराह क्षेत्र मिडिया प्रा.ली.को चौथो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । 

सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद चौधरीले सूचना तथा प्रविधिको कारणले आज विश्व एउटै गाउँ बनेको बताउँदै त्यसलाई सहीरुपमा प्रयोग गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले सूचना प्रविधिको प्रयोग गरेर कतिपय व्यक्तिहरुले अस्वस्थ प्रतिस्पर्धासमेत गर्ने गरेको भन्दै त्यस्ता कुरालाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । 

“कतिपय मानिसहरु अस्वस्थ प्रतिस्पर्धामा गइरहेका छन् । जसका कारण राम्रा काम गर्नेहरु ओझेलमा पनि परेका छन्,” उहाँले भन्नुभयो, “मिडियाले राम्रो कुरालाई उजागर गर्ने र बेथितिलाई बाहिर ल्याएर गलत काम गर्ने व्यक्तिलाई कठघरामा ल्याउने काम गर्नुपर्छ । गलत काम गर्नेलाई सजाय दिलाउन सक्नेसम्मको काम तपाईहरुको मिडियाले गर्न सक्छ ।” बेथितिलाई बाहिर ल्याएर राम्रा कुराको प्रोत्साहन गर्ने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।

२०४९/५० सालतिर छ महिना आफूले पनि रेडियो नेपालमा काम गरेको स्मरण गर्दै उहाँले मिडियाका विषयमा आफूलाई पनि केही कुरा जानकारी रहेको बताउनुभयो । “यसमा राम्रो कुराका साथै केही चुनौती पनि रहेको छ । ती चुनौतीलाई पार गर्दै गयौँ भने पक्कै पनि हामी सफल हुनेछौँ,” उहाँले भन्नुभयो । 

अर्को प्रसङ्गमा पूर्वमन्त्री चौधरीले मन्त्रीहरु अस्थायी हुने भएकाले कतिपय कामहरु चाहेर पनि गर्न सक्ने अवस्था बताउनुभयो । “हामी राजनीतिकर्मीहरु सांसद हुन्छौँ । कहिलेकाहीँ मन्त्री बन्ने अवसर आउँछ । तर त्यो स्थायी नहुने रहेछ । एक-दुई महिना काम हुन्छ, तर स्थानीय सरकार पाँच वर्षका लागि स्थायी हो । यसमा हामी काम गर्न सक्छौँ,” उहाँले भन्नुभयो । उहाँले सबै निकायले सबै मिडिया बाँच्ने हिसाबले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

“मिडिया हरेक ठाउँमा चाहिन्छ । त्यसकारण हामीले व्यावसायिकरुपमा काम गर्न सकिन्छ । हामीले हाम्रो तर्फबाट पनि पहल गर्न सक्छौँ,” उहाँले भन्नुभयो, “तर समय सन्दर्भअनुसार मिडियाले पनि आफूलाई परिवर्तन ल्याउन आवश्यक छ ।” मिडिया सर्भाइभ हुने गरी काम गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।   













0 प्रतिकृया