Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


नेकको प्रवेश परीक्षामा विद्यार्थीको उत्साहजनक सहभागीता

एक्सन खबर
भदौ, १, २०८१


नेकको प्रवेश परीक्षामा विद्यार्थीको उत्साहजनक सहभागीता

काठमाडौं । नेपालमै सर्वसुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने हेतूले स्थापित नेपाल इन्जिनियरिङ कलेज (नेक) ले नयाँ शैक्षिक सत्रका लागि लिएको प्रवेश परीक्षामा विद्यार्थीको उत्साहजनक सहभागीता रहेको छ । शनिबार चाँगुनारायण–४ भक्तपुरमा दिइएको पहिलो प्रवेश परीक्षामै कक्षा १२ पास गरेका विद्यार्थीहरुले उत्साहजनक सहभागीता जनाए । 

स्नातक तहमा इन्जिनियरिङ विधाका ६ वटा विषयमा लिइएको प्रवेश परीक्षामा देशभरबाट विद्यार्थीहरुले सहभागीता जनाएको कलेजका प्राचार्य सह प्राध्यापक दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो । ४८० कूल सिटको प्रवेश परीक्षामा झण्डै आधा सिटमा विद्यार्थीहरुले परीक्षा दिएका छन् । ‘स्नातक तहका सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन तथा आर्किटेक्ट विषयको प्रवेश परीक्षामा विद्यार्थीहरुको उत्साहजनक रुपमा सहभागीता रह्यो ।’ विद्यार्थीहरुको उत्साहजनक सहभागीताले पनि नेपालमै सर्वसुलभ रुपमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा पाउन सकिन्छ भन्ने विस्वास विद्यार्थीहरुमा देखिएको भन्दै प्राचार्य भण्डारीले भन्नुभयो । 

प्रवेश परीक्षाको निरिक्षणका लागि आउनु भएका पोखरा विश्वविद्यालयका प्राध्यापक माधबप्रसाद कोइरालाले विश्वविद्यालयले पुराना पाठ्यक्रमलाई परिमार्जन गरेर नयाँ बनाइएकोले पनि विद्यार्थीहरुको आकर्षण बढेको बताउनु भयो । कोभिड–१९ पछि विश्वविद्यालयले विद्यार्थीहरुलाई विश्वब्यापी प्रतिष्पर्धा गराउन पुरानो मोडल हटाएर नयाँ मोडलको पाठ्यक्रम तयार पारिएको जिकीर गर्नुभयो । ‘पोखरा विश्वविद्यालयबाट सञ्चालित धेरै विषयहरुको पाठ्यक्रमहरु चेन्ज गरेका छौं । नेपाली विद्यार्थीहरु विदेश नजाउन् स्वदेशमै अन्तराष्ट्रिय स्तरको शिक्षा दिनुपर्छ भनेर विश्वविद्यालय सचेत छ ।’ प्राध्यापक कोइरालाले भन्नुभयो । 

प्रवेश परीक्षाको निरिक्षणमा आउनु भएका नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष तथा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले स्वदेशमै अन्तराष्ट्रियस्तरको इन्जिनियरिङ शिक्षा दिन सकिन्छ भन्ने कुरा नेपाल इन्जिनियरिङ कलेजले प्रमाणित गरेको बताउनु भयो । पछिल्लो समय कक्षा १२ पास गर्ने वित्तिकै विद्यार्थीहरु विदेश गईहाल्ने गलत ट्रेन्डको विकास हुँदा देशमा युवा जनशक्ति अभाव हुनसक्ने चिन्ता समेत व्यक्त गर्दै कम्तिमा व्याचलर तहको अध्ययन नेपालमा गर्नुपर्ने जिकीर गर्नुभयो । ‘नेपालको इन्जिनियरिङ शिक्षा अन्तराष्ट्रिय स्तरको छ । हतारमा कुनै ज्ञान र सीप विना विदेश जाँदा धेरै समस्याहरु आइपर्दछ । देखासिकी र लहडमा नजाउँ ।’ नेपाल इन्जिनियरिङ कलेजमा अध्ययन गर्दा विद्यार्थीले धेरै फाइदा लिन सक्ने बताउँदै अध्यक्ष खत्रीले भन्नुभयो । 

प्रवेश परीक्षामा सहभागिता जनाएका संखुवासभाका विद्यार्थी रञ्जन अर्यालले एआई, मसिन लर्निङ जस्ता नयाँ विषयहरु पोखरा विश्वविद्यालयको पाठ्यक्रममा रहेकाले नेपाल इन्जिनियरिङ कलेज छनौट गरेको बताउनुभयो । ‘यहाँ फुलटाइम फ्याकल्टी हुनुहुँदो रहेछ । ल्याब, पुस्तकालय पनि अन्य कलेजको दाँजोमा राम्रो रहेछ । त्योसँगै आइटीका नयाँ टेक्नोलोजी एआई, मसिन लर्निङ जस्ता विषयहरु पनि रहेछ ।’ कलेजले दिने छात्रवृत्ति पनि आफुलाई मन परेको भन्दै विद्यार्थी अर्यालले भन्नुभयो । 

सन् १९९४ मा मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ । कलेजमा विद्यार्थीको घुईचो लाग्नुमा कलेजले हरेक वर्ष दिने आकर्षक छात्रवृत्ति पनि एक हो । प्रत्येक वर्ष कलेजले स्थानीय पालिका, वडा तहदेखि प्रादेशिक, सेमेस्टर टपर, कलेज टपर लगायत विभिन्न शिर्षकमा १५ करोड बराबरको छात्रवृत्ति दिईँदै आएको छ । 

गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आइरहेको यो कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले २०६० सालदेखि लगातार स्थायी अनुमति दिँदै आएको छ । काउन्सिलले हरेक वर्ष देशभर सञ्चालित कलेजहरुको शैक्षिक, भौतिक, प्राविधिक मुल्यांकन गरी स्थायी र अस्थायी अनुमति दिने गरेको छ ।  कलेजले अर्को प्रवेश परीक्षा केही समयमै सञ्चालन गर्ने बताएको छ । 
















0 प्रतिकृया