बाढी, पहिरो डुबानमा परि हालसम्म १ सय ९० जनाकाे मृत्यु
एक्सन खबर
काठमाडौं । मनसुनी विपद्मा परेर जारी मनसुनमा आजसम्म १ सय ९० जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण आएको बाढी, पहिरो डुबानलगायत मनसुनी विपद्मा परि हालसम्म १ सय ९० जनाकाे मृत्यु भएकाे हाे ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएसँगै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा आजसम्म १ सय ९० जनाको मृत्य भएको जानकारी दिनुभयाे ।
कार्कीका अनुसार काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको ज्यान गएको छ । यस्तै, काठमाडौं उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी दुई सय ३८ जना विभिन्न विपद्मा परी घाइते भएका छन् ।
सोही अवधिमा एक सय १४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेश प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ।
बाढीका कारण आजसम्म तीन सय ८४ घर डुवानमा परेका, तीन सय २७ घर, एक सय १२ गोठ, ५१ पुल, चार विद्यालय दुई सरकारी कार्यालयमा क्षति भएको, चार हजार आठ सय १९ परिवार विपद्का घटनाबाट विस्थापित भएका छन् ।
0 प्रतिकृया