नेपाल मेडिकल कलेजमा तीजकाे शुभकामना (फाेटाे फिचर)
एक्सन खबर
काठमाडौं । हरितालिका तीजको अवसरमा नेपाल मेडिकल कलेजका स्वास्थ्यकर्मी र महिला कर्मचारीहरु छमछमी नाचेका छन् । कलेजले आयोजना गरेको तीज शुभकामना कार्यक्रममा कलेजमा कार्यरत महिला चिकित्सक, नर्स तथा कर्मचारीहरुले रातो पहिरनमा सजिएर एकापसमा तीजको शुभकामना साटासाट गरे ।
हरेक दिन एप्रोन लगाएर बिरामीको सेवामा खटिने नर्स तथा स्वास्थ्य परिचारिकाहरु रातो सारी, रातै टिका र पहिरनमा सजिँदा त्यहाँको रौनक नै फेरिएको थियो । उनीहरुले धक फुकाएर नाच्दै रमाइलो गरे । डिउटीमा रहेका महिला दिदिबहिनीहरुलाई चाडपर्वको बेला घरपरिवारसँग बसेर रमाईलो गर्ने माहौल नहुने भएकोले उहाँहरुलाई कार्यस्थलमै चाडपर्वको अनुभूती गराउन कार्यक्रम गरिएको हो ।
तीज सनातन हिन्दु धर्मावलम्बी महिला दिदिबहिनीहरुको महत्वपूर्ण चाड हो । प्रौराणिक ग्रन्थ अनुसार हिमालय पुत्री पार्वतीले हरितालिका तीजको कठोर ब्रत बसी भगवान शिवजीलाई प्राप्त गरेको कथन छ । विवाहित नारीले श्रीमान तथा परिवारको सूस्वास्थ्य र दिर्घायूको कामना गर्ने तथा अविवाहित महिलाले राम्रो श्रीमान पाउँ भनी तीजको ब्रत बस्ने गर्दछन् ।
कार्यक्रममा कलेजकी निर्देशक डा. साविहा यासमिन समेत सहभागी हुँदै तीजको शुभकामना दिनुभयो । अन्य दिनमा काम, जिम्मेवारी र कर्तव्यको बोझमा भएपनि तीजको अवसरमा खुलेर रमाइलो गर्न उहाँले प्रेरित गर्नुभयो । साथै उहाँले महिलाहरु दोहोरो जिम्मेवारीमा रहने भएकोले अन्य बेला रमाउने परिस्थिति कम हुने बताउँदै तीजमा सबै दुखः कष्ट विर्सेर रमाउन आग्रह गर्नुभयो ।
तीज शुभकामना आदान प्रदान कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोद कुमार क्षेत्री, अस्पताल निर्देशकद्वय डा. राजेश किशोर श्रेष्ठ, मोदनाथ मरहठ्ठा लगायतको समेत सहभागीता रहेको थियो । कलेजले हरेक वर्ष हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान गर्ने गरेको छ ।
0 प्रतिकृया