सांसद सुनिल शर्माद्वारा अपाङ्गता भएकालाई उपचार गर्न ५० प्रतिशत छुट दिने घोषणा
एक्सन खबर
काठमाडौं । सांसद सुनिलकुमार शर्माले शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई उपचार गर्न ५० प्रतिशत छुट दिने घोषणा गर्नुभएको छ । काठमाडौं मेडिकल कलेजमा शारिरीक अपाङ्गता भएका व्यक्तिहरुको उपचारमा उनले ५० प्रतिशत छुट दिने व्यवस्था गर्नु भएको हो ।
आइतबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका पदाधिकारीहरुसँग केएमसीमा सो सम्बन्धी सम्झौता गर्दै डाक्टर सुनिलकुमार शर्माले भर्ना भएर वेडमा उपचार गर्दा ५० प्रतिशत छुट गरिएको बताउनु भयो । शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको सिफारिसमा केएमसीमा उपचार गर्दा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको हो ।
‘शारिरीक रुपमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्न पाउनु एउटा पुन्यको काम पनि हो ।’ डा. शर्माले सो अवसरमा भन्नुभयो । उहाँले आगामी दिनमा अन्य सहयोग र सहकार्य पनि भइरहने बताउनु भयो । पहुँचको अभावमा उपचारबाट बञ्चित भएका शारिरीक अपाङ्गताहरुलाई यो सहमतिले ठूलो राहत पुग्ने देखिएको छ । केएमसीका प्रमुख प्रशासकीय अधिकृत तथा प्रबन्धक नारायण दाहालले सांसद शर्माको पहलमा अस्पतालले अपाङ्गता भएका व्यक्तिहरुको उपचारमा विभिन्न विषयमा सहुलियत दिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै कलाकार रेखा थापाले शारिरीक रुपमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सांसद शर्माले गरेको कार्य प्रशंसा गर्दै कृतज्ञता व्यक्त गर्नुभयो । ‘मैले हिम्मतवाली नामको चलचित्र निर्माण गरेको थिए, चलचित्र क्षेत्रबाट मैले गर्ने कर्म त्यही हो । सामाजिक काम गर्ने कुरा सबैको बसमा हुँदैन । सुनिल दाईले गरेको काम गर्न ठूलै हिम्मत चाहिन्छ ।’ कलाकार थापाले भनिन्,‘बोल्ने एउटा हुन्छ, गर्ने अर्को हुन्छ तर, सुनिल दाईको हकमा त्यो पाइन । उहाँले धेरै मान्छेहरुलाई सहयोग गर्नुभएको छ ।’
आफुले चलचित्रको पर्दामा गरेको काम रियलमा सांसद सुनिल शर्माले गरेको भन्दै प्रशंसा गर्नुभयो । डा. शर्मासँगै आफुले चुनाब लडेको प्रसंग निकाल्दै कलाकार थापाले सांसद शर्माले आफ्नो क्षेत्रको लागि गरेको कामको पनि प्रशंसा गर्नुभयो ।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका पदाधिकारीहरुले सांसद शर्माले अपाङ्गता भएकाहरुका लागि धेरै ठूलो कार्य गरेको जिकीर गर्नुभयो । विगतमा सांसद शर्माले अपाङ्गता भएका व्यक्तिहरुका लागि आफ्नै हिसाबले गरेपनि अब संस्थागत रुपमा अगाडी बढ्न लागिएको उहाँहरुले जनाउनु भयो । उपचार गर्न नपाईरहेका र नसकिरहेका अपाङ्गता भएकाहरुलाई उपचार गर्न सहज हुने उहाँहरुको भनाइ छ ।
अपाङ्गता भएका व्यक्तिहरु उपचारबाट बञ्चित हुँदा अकालमै मृत्यु हुने परिस्थिति थियो । सांसद शर्माले त्यस्ता व्यक्तिहरुको बाच्ने अधिकारलाई संरक्षण गर्न ठूलो योगदान पुर्याएको संघको ठहर छ । अपाङ्गता भएका व्यक्तिहरु अब उपचारबाट बञ्चित भएर मृत्युवरण गर्नु नपर्ने र यस अभियानलाई सरकारी निकाय र अन्य संस्थाहरुले पनि अनुशरण गर्नुपर्ने संघको धारणा छ ।
0 प्रतिकृया