Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


ओखलढुंगाका तीन दर्जन बढी बिरामीको केएमसीमा निःशुल्क अप्रेसन (भिडियाे सहित)

एक्सन खबर
असोज, १, २०८१


ओखलढुंगाका तीन दर्जन बढी बिरामीको केएमसीमा निःशुल्क अप्रेसन (भिडियाे सहित)

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेजमा ओखलढुंगाका तीन दर्जनबढी बिरामीलाई निःशुल्क अप्रेसन गर्न ल्याइएको छ । ओखलढुंगा, सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल सहित ती बिरामीहरु अप्रेसनका लागि केएमसी आइपुगेका हुन् । 

ओखलढुंगाका ती बिरामीहरुलाई औषधी र शल्यक्रियामा लाग्ने उपकरण वाहेक अन्य सबै शुल्क मिनाहा गरिएको केएमसीका प्रमुख प्रशासकीय अधिकृत तथा जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । सांसद शर्मा गत बैशाखमा ओखलढुंगा जाँदा त्यस जिल्लामा निःशुल्क स्वास्थ्य शिविर ल्याउन अनुरोध गरिएको थियो । डा. शर्माले तत्काल शिविर ल्याउन नसकेपछि जिल्लाबाट सिफारिस भईआएका बिरामीहरुलाई केएमसीमा निःशुल्क उपचार गरिदिने सिद्धिचरण नगरपालिकासँग सम्झौता भएको थियो । 

केएमसीमा सिद्धिचरण नगरपालिकाको सिफारिसमा आएका बिरामीहरुलाई जस्तोसुकै ठूलो रोगको उपचार गर्नुपरे पनि औषधी र स्वास्थ्य उपकरण वाहेक अन्य शुल्कहरु नलिने प्रमुख प्रशासकीय अधिकृत तथा जनरल मेनेजर नारायण दाहालले बताएका छन् । गम्भिर बिरामी तथा औषधी र शल्यक्रियाका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउन नसक्नेहरुका लागि पनि आवश्यक सहयोग गरिने दाहालले जानकारी दिए । केएमसीमा सबै प्रकारको उपचार हुने भन्दै प्रमुख प्रशासकीय अधिकृत दाहालले चाँडै क्यान्सर रोगको पनि उपचार थालिने जानकारी दिए । 


केएमसीमा नयाँनयाँ प्रविधिका स्वास्थ्य उपकरण र दक्ष जनशक्ति रहेको जानकारी दिँदै उनले भने,‘केएमसीमा नेपालका अन्य अस्पतालमा जेजे उपचार हुन्छ त्यो उपचार यहाँ संभव छ, यहाँ संभव नभएको क्यान्सर रोगको उपचारमा उपकरण मगाएका छौं । सरकारलाई निवेदन दिएका छौं । नयाँ टेक्नोलोजी ल्याएर सुपथ शुल्कमा सेवा प्रदान गरिरहेको छ ।’ केएमसीमा रोवटिक सर्जरी देखि मिर्गौला प्रत्यारोपण, मस्तिष्क तथा नसाको गम्भिर शल्यक्रियाहरु हुने गरेको छ । 

कार्यक्रममा बोल्दै सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले सांसद डा. शर्माको निःशुल्क स्वास्थ्य शिविर र उपचारको कार्यक्रमले गरिब, विपन्न नागरिकले ठूलो राहत पाएको बताए । सरकारले गर्न नसकेको काम सांसद शर्माले गरेको जनाए । यस्तै, कोशी प्रदेशका सांसद प्रदीप कुमार सुनुवारले पनि सांसद शर्माले गरेको समाजसेवा र स्वास्थ्य सेवाको मुक्तकण्ठले प्रशंसा गर्दै दुरदराजमा रहेका बिरामीले पैसा नभएर उपचार नपाएर मृत्युवरण गर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।  
















0 प्रतिकृया