आज ८ औं संविधान दिवसः जनताको अवस्था परिवर्तन नहुँदा असन्तुष्टी बढ्दो
एक्सन खबर
आज ८ औं संविधान दिवस, देशभर विविध कार्यक्रम गरी मनाईंदैछ । नागरिकस्तरबाट काठमाडौंको दरबारमार्गमा विशेष कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । २०७२ साल भाद्र ३० गते संविधानसभाबाट करिब ९१ प्रतिशत बहुमतले नेपालको बर्तमान संविधान पारित भएको थियो । सोही संविधानलाई ३ असोज ०७२ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाको बैठकमार्फत सार्वजनिक गरेका थिए ।
३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेको यस संविधानले विधिवत् रूपमा राजतन्त्र अन्त्य गरेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था लागू गरेको छ । संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरेको छ । एकात्मक शासन व्यवस्थाको अन्त्य गरी संघात्मक शासन व्यवस्थामा परिवर्तन गर्नु यो संविधानको विशेषता हो । स्थानीय, प्रदेश र संघ तीन सरकार मार्फत देशको विकास गर्नु, मुलुकको राष्ट्रिय अखण्डता, सार्वभौमिकताको संरक्षण गर्नु यो संविधानको उपलब्धी हो ।
जनताका मौलिक अधिकारलाई संरक्षण गर्दै सामाजिक, सांस्कृतिक, भौगोलिक विविधता र विशेषतालाई यस संविधानले स्वीकार गरेको छ । जनताका प्रतिनिधिले ६ वर्ष लगाएर लेखिएको संविधान प्रति केही असन्तुष्टी नभएका हैनन् । व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन हुन नसकेकोमा संविधानको भन्दा पनि शासक प्रति जनअसन्तुष्टी देखिएका छन् । विकास, सुशासन र समृद्धिका सवालमा राज्य कमजोर बन्दा त्यसको असन्तुष्टीले संविधान र बर्तमान व्यवस्था प्रति प्रश्न उठेका हुन् ।
त्यसो त संविधान अकाट्य पनि हैन । समयानुकूल, जनताको माग र भावना अनुरुप यसलाई संसोधन गर्न सकिन्छ । तर, त्यसको लागि विधि, प्रक्रिया र पद्दतिलाई हामी सबैले अनुशरण गर्नुपर्दछ । यस मानेमा हामी सबैले संविधान अनुरुप राष्ट्रिय अखण्डता, सार्वभौमिकता, वाक स्वतन्त्रता, नागरिक अधिकारको संरक्षण गरी लोकतान्त्रिक विधिद्वारा अगाडी बढ्नु पर्दछ ।
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायत राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन् ।
सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्रदान हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित र सामाजिक सुरक्षाको प्रत्याभूत गर्न आवश्यक रहेको बताएका छन् ।
यस्तै, उपराष्ट्रपति रामसहाय यादवले प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन अपरिहार्य रहेको बताएका छन् ‘संघ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँड गर्न अझै पनि विलम्ब हुनुले सङ्घीयताप्रति नै वितृष्णा बढेको जस्तो देखिएकाले आगामी दिनमा सङ्घीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधानसम्मत अधिकारसम्पन्न गराउन अतिआवश्यक र अपरिहार्य छ,’ उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा भनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाली जनताले लामो समय भोगेको निरंकुशता आजको पुस्ताले बिर्सन नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा दुई दशक अगाडिको चित्र आउने बताउँदै वर्तमान पुस्ताले त्यस्तो निरंकुशता बिर्सन नहुने बताएका छन् ।
‘सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको छ । यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ,’ शुभकामना सन्देशमार्फत उनले भनेका छन्।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको जिकीर गरेका छन् । ‘यो संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको छ,’ सभापति देउवाले भनेका छन्।
उनले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन् ।
यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटो भएको बताएका छन् ।
अध्यक्ष प्रचण्डले सबै प्रकारका अराजकता र निरंकुशतावादी सोचका विरुद्ध राष्ट्र र जनतालाई एकताबद्ध गर्नु नै संविधान दिवस मनाउनुको उद्देश्य भएको बताउँदै संविधानप्रदत्त अधिकारलाई थप सुदृढ गर्नु सबैको जिम्मेवारी भएको जनाएका छन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, जसले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायलाई अधिकारसम्पन्न बनाएको छ र राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई एक हदसम्म सुनिश्चित गरेको छ। यसलाई अझ सुदृढ गर्न अगाडि बढ्नु हामी सबैको जिम्मेवारी हो,’ अध्यक्ष प्रचण्डले भनेका छन् ।
संविधान दिवस आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा मूल समारोह समिति बनेको छ । आज बिहानै सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरिएको छ ।
0 प्रतिकृया