Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान

एक्सन खबर
असोज, ४, २०८१


प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान

काठमाडाैं । संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीसँग पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी छन् ।

असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यतालिका छ । भने, न्युयोर्कमा रहँदा अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई समेत प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय छ । 

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने उनकाे सचिबालयले जानकारी दिएकाे छ । 

यस्तै, भ्रमण क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत हुनेछ । प्रधानमन्त्रीले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् ।

विमानस्थलमा प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू र नेकपा एमालेका नेताहरूले बिदाइ गरेका छन् । त्यसक्रममा नेपाली सेनाको एक टुकडीले विशेष सम्मान प्रकट गरेको थियो । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ । 















0 प्रतिकृया