सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरमा ११ सय बढिको उपचार
एक्सन खबर
काठमाडौं । सांसद सुनिलकुमार शर्माको स्वास्थ्य टोलीले सर्लाहीको बसबरियामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ११ सय बढीको उपचार गरिएको छ । शुक्रबार सर्लाही बसबरिया स्थित त्रिभुवन माध्यामिक विद्यालयमा सम्पन्न शिविरमा ११ सय ३७ जनाको उपचार गरिएको हो ।
काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल शिक्षण अस्पतालका स्वास्थ्यकर्मी सम्मिलित शिविरमा १६२ जनाको भिडियो एक्सरे, ४५ जनाको इसिजी, ५७ जनाको इको, ६६ जनाको ल्याब परीक्षण गरिएको केएमसीका प्रमुख प्रशासकीय अधिकृत तथा प्रबन्धक नारायण दाहालले जानकारी दिए । शिविरमा ७ जनाको दाँत खोलिएको छ भने, १०६ जनालाई थप उपचारका लागि ओ.टी. रेफर समेत गरिएको छ ।
शिविरबाट थप उपचार र शल्यक्रियाका लागि रेफर गरिएका बिरामीहरुका लागि केएमसीमा निःशुल्क उपचारको प्रबन्ध गरिएको छ भने, नोवेलमा ५० प्रतिशत शुल्कमा उपचार गर्ने व्यवस्था मिलाईएको छ । केएमसीका प्रबन्धक दाहालले सांसद डाक्टर सुनिल शर्माले विशुद्ध मानव सेवाभावले निःशुल्क स्वास्थ्य शिविर चलाएकाले त्यहाँबाट रेफर भएर आएका बिरामीहरुलाई निःशुल्क उपचार र शल्यक्रियाको ब्यवस्था गरिएको बताए ।
शिविरमा डा. शर्मा आफैंले बिरामीहरुको विवरण संकलन गर्ने, उनीहरुको स्वास्थ्य जाँचका लागि सहजीकरण गर्न काम गरेका थिए । उनले राज्यको नजर नपरेका दुरदराजमा रहेका नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पुर्याउने अभियान अनुसार निःशुल्क स्वास्थ्य शिविर चलाई रहेका छन् । सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट अहिलेसम्म लाखौं नागरिक लाभान्वित भइसकेका छन् ।
0 प्रतिकृया