गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक छविलाल पक्राउ
एक्सन खबर
काठमाडौं । सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेकाे छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई शंखमुल क्षेत्रबाट नियन्त्रणमा लिएको हाे ।
प्रहरीले जोशीलाई ‘जरुरी पक्राउ पूर्जी’ दिएर नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लेखेको पत्र समेतका आधारमा जरुरी पूर्जी थमाएर जोशीलाई पक्राउ गरेकाे हाे ।
कुनै कसुर गर्ने व्यक्ति तत्काल पक्राउ नगर्दा ‘त्यस्तो व्यक्ति भाग्ने, उम्कने वा प्रमाण नष्ट गर्ने अवस्था भए’ जरुरी पक्राउ पूर्जी लिएर व्यक्तिलाई पक्राउ गर्न सक्ने अधिकार प्रहरीसँग भएकाले जाेशीलाई जरूरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएकाे हाे ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानून अनुसार कारबाही गर्न सिफारिस गरेकोमा गृहमन्त्री रमेश लेखकले तत्काल प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।
कारबाहीकाे सिफारिसमा परेकामध्ये राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी छ भने रम्तेल पुर्पक्षका लागि थुनामा छन् । जोशी र लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।
२२ माघमा लामिछानेसहित १८ जनाविरुद्ध २५ जना पीडितले पूरक जाहेरी दिएकाेमा साेही जाहेरी र प्रतिवेदनका आधारमा सहकारीकाे रकम अपचलनमा संलग्नहरू विरूद्ध प्रहरीले कारवाही अगाडी बढाएकाे छ ।
सहकारी ठगी प्रकरणमा गत माघ २४ गते जोशीको शंखमूलस्थित घरमा प्रहरीले छापा मार्दा बरामद भएका चारवटा सर्भरमा जीबी भन्ने गितेन्द्र बाबु राई जोडिएका चारवटा सहकारीको १० अर्ब रुपैयाँभन्दा बढी कारोबारको विवरण प्रहरीले फेला पारेको थियो । सर्भरमा पोखराको सूर्यदर्शन सहकारी, चितवनको सहारा सहकारी, वीरगञ्जको सानोपाइला सहकारी, बुटवलको सुप्रिम सहकारीको पनि कारोबार विवरण फेला परेको थियो ।
जीबी राई सञ्चालक रहेको ७ मध्ये पाँचवटा सहकारीबाट ६५ करोड रुपैयाँ रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत यो समूहले ग्यालेक्सी टिभी चलाएको थियो ।
0 प्रतिकृया