Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


स्वास्थ्य बिमाको रकम नपाउँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सकसमा

एक्सन खबर
असोज, १९, २०८१


स्वास्थ्य बिमाको रकम नपाउँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सकसमा

दाङ । स्वास्थ्य बिमाको उपचार गर्दा लागेकाे रकम बीमा बाेर्डले नदिँदा बीमा कार्यक्रम चलाउन सकस भएकाे दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएकाे छ । बाेर्डले समयमै भुक्तानी नदिँदा प्रतिष्ठानले औषधि र उपकरण आपूर्तिकर्तालाई भुक्तानी दिन नसक्दा समस्या उत्पन्न भएकाे हाे । 

स्वास्थ्य बीमा बोर्डबाट चार आर्थिक वर्षको १२ करोड १५ लाख ८४ हजार ४ सय ६७ रुपैयाँ पाउन बाँकी रहेको प्रतिष्ठानले साेमबार सर्वपक्षिय अन्तरकृयामा जानकारी गराएकाे छ । बीमा कार्यक्रम सञ्चालन गर्दा प्रतिष्ठानलाई १३ करोड ४२ लाख ५ हजार ५ सय ७८ रुपैयाँ ऋण लागेको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताउनु भयाे । 

बीमा बोर्डबाट समयमै रकम नपाउँदा प्रतिष्ठानले औषधि र उपकरण आपूर्तिकर्तालाई भुक्तानी दिन नसकेको उहाँकाे भनाइ छ । ‘बिरामीको चाप छ तर, बिमा बोर्डबाट रकम समयमै नपाउँदा समस्या उत्पन्न भइरहेकाे छ, औषधि आपूर्तिकर्तालाई पैसा तिर्न सकेका छैनौं । उनीहरूले पैसा नपाए औषधि दिन नसक्ने भनिरहेका छन् ।’  उपकुलपति डा. लामिछानेले भन्नुभयाे । 

आर्थिक अभावका कारण औषधि र अन्य आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न समेत समस्या भइरहेको प्रतिष्ठानले जनाएकाे छ । बिमाको रकम नपाएका कारण उपचारलाई निरन्तरता दिन कठिन भएको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले बताउनु भयाे । ‘दैनिक रूपमा बीमाका बिरामी बढिरहेकाेले साेहि अनुसार खर्च बढिरहेको छ, बीमा रकम समयमै नपाउँदा प्रतिष्ठान समस्यामा परेकाे छ ।’ रजिष्ट्रार लम्सालले भन्नुभयाे । उहाँले विपन्न परिवारलाई लक्षित गरी बीमा कार्यक्रम सुरु गरिए पनि सम्पन्न व्यक्तिहरूले यसबाट बढी फाइदा लिइरहेको बताउनु भयाे । ‘गरिब, विपन्न नागरिकले सुविधा उपभाेग गर्न नसकेकाे अनुभव भइरहेकाे छ ।’ 

बीमा बाेर्डले भुक्तानी नदिँदा औषधि र स्वास्थ्य सामग्री सप्लायर्सलाई भुक्तानी दिन नसकेकाे बताउँदै रजिष्ट्रार लम्सालले सप्लायर्सहरूले पनि सामग्री दिन बन्द गर्ने चेतावनी दिइसकेको जानकारी गराउनु भयाे । प्रतिष्ठानमा वार्षिक १ लाख ६३ हजार २ सय ७३ बिरामीले सेवा लिइरहेकाेमा ४७ हजार ७ सय १९ बीमाको सेवा लिने बिरामी रहेकाे प्रतिष्ठानले जनाएकाे छ । 

कार्यक्रममा बाेल्दै स्वास्थ्य बिमा बोर्ड दाङका प्रमुख वसन्त लामिछानेले जिल्लामा ८ प्रतिशत जनता मात्रै बीमा बाेर्डमा जाेडिएकाे बताउनु भयाे । उहाँका अनुसार जिल्लामा ५९ हजार १ सय ७१ जनाको स्वास्थ्य बीमा भएको छ । रसायन तथा मेडिकल आपूर्ति संघ दाङ र नेपाल औषधि थोक व्यवसायी संघ दाङले संघमा आबद्ध व्यावसायिक संस्थाहरूले औषधि, ल्याब केमिकल, एक्सरेलगायत स्वास्थ्योपचारमा आवश्यक पर्ने सामग्री आपूर्ति गरेको रकम लामो समयसम्म पनि भुक्तानी नपाएको गुनासाे गरेका छन् । 

रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष बालकुमार घर्तीले समयमै रकम भुक्तानी नभए स्वास्थ्य सामग्रीहरू आपूर्ति गर्न नसक्ने चेतावनी दिँदै ज्ञापनपत्र बुझाए पनि हालसम्म केही सुनुवाइ नभएको बताउनु भयाे । अग्रिम रकम तिरेर औषधी र उपकरण ल्याउनु पर्ने तर, सरकारी स्वास्थ्य संस्थाले समयमै भुक्तानी नगर्दा बैंककाे ऋण तथा अन्य ऋणकाे बाेझ बाेकिरहनु परेकाे उनीहरूकाे भनाइ छ । 

दाङका राजनीतिक दलहरूले भने आर्थिक समस्यालाई हल गर्न पहल गर्ने भन्दै प्रतिष्ठानलाई सेवा नरोक्न आग्रह गरेका थिए । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, तुलसीपुरका मेयर टीकाराम खड्का, घोराहीका उपमेयर हुमा डीसी, दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, नेकपा एमालेका अध्यक्ष शिवकुमार आचार्य, नेपाली कांग्रेसका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा माओवादी केन्द्रका सचिव विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, नेकपा विप्लवका जिल्ला इन्चार्ज सविन पोख्रेल, नेकपा बहुमतका अमर खड्का, मानव अधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्मालगायतले उपचार नराेक्न भन्दै रकम भुक्तानीका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । 














0 प्रतिकृया