नवरात्रकाे चाैथाे दिन कुष्माण्डा देवीको पूजा, कुभिन्डाेकाे बली
काठमाडौं । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिंदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीको दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । कुष्माण्डा देवीकाे प्रतिकका रूपमा कुभिन्डाेकाे बलि दिइन्छ । शक्तिपिठहरूमा आज विधिपुर्वक पुजाआजा गरि कुभिन्डाेकाे बलि दिइएकाे छ ।
आजपनि देशभरका विभिन्न शक्तिपीठहरूमा देवी भगवतीकाे दर्शन गर्न दर्शनार्थीकाे भीड लागेकाे छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमददेवी भागवत जस्ता देवी स्तोत्र पाठ गरिन्छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौंथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको हो ।
विभिन्न पुराणका अनुसार देवी कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्छिन् । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नवरात्रका अवसरमा देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
0 प्रतिकृया