प्रतिनिधि सभाकाे विशेष अधिवेशन बाेलाउन रास्वपाकाे माग
एक्सन खबर
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि माग गरेको छ । रास्वपाले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका तमाम समसामयिक समस्याबारे तत्काल छलफल गर्न विशेष अधिवेशन बाेलाउन माग गरेकाे हाे ।
बाढिपहिराेकाे विपद्पछिको पुनःस्थापनामा सहयोग गर्नका लागि संसद्को विशेष अधिवेशन आवश्यक पर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रास्वपाले विशेष अधिवेशनका लागि सबै राजनीतिक दलहरूको ध्यानाकर्षणसमेत गराएको छ ।
सुशासन, नागरिक केन्द्रित सेवा प्रवाहमा सुधार र संविधान संशोधनको मुख्य उद्देश्य सहित असार ३१, २०८१ मा नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलको सहभागितामा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले एकसय दिन पूरा गर्न लागेपनि घोषित प्रतिबद्धता पूरा गर्नेतर्फ सरकारले प्रारम्भिक संकेतसम्म देखाउन नसकेकाे रास्वपाकाे ठहर छ ।
‘विपद्को पूर्वतयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको छ । मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौं मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यास गरेबाट सुशासनको अडान धरमराएको छ । संविधान संशोधनको बहसमा औचित्य पुष्टि हुने गरी सरकारले श्वेतपत्र नै जारी गर्ने अपेक्षा थियो तर उक्त विषय अहिले ओझेलमा पारिएको छ ।’ जारी विज्ञप्तिमा भनिएकाे छ ।
आत्मविश्वास र दक्षता स्खलित हुँदा दुई तिहाईको सरकार ‘कामचलाउ’ जस्तो देखिएकाे भन्दै उसले सरकारलाई निगरानी गर्नुपर्ने संसदीय समितिहरु समेत सत्ता पक्षीय बहुमतको बन्धक भएकाे जिकीर गरेकाे छ ।
0 प्रतिकृया