नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा. साविहा यासमिन नियुक्त हुनु भएको छ । कलेज सञ्चालक समितिको बैठकले डा. यासमिनलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । उहाँ यसअघि कलेजको डाइरेक्टर पदमा कार्यरत हुनुहुन्थ्यो ।
बुधबार एक कार्यक्रमका विच कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले नवनियुक्त प्रबन्ध निर्देशक डा. यासमिनलाई पदभार ग्रहण गराउनु भयो । सो क्रममा बोल्दै अध्यक्ष प्रा.डा. अन्सारीले नेपाल मेडिकल कलेजको गरिमालाई उँचो बढाउने गरी काम गर्न प्रबन्ध निर्देशकलाई शुभकामना दिनुभयो ।
कलेजको शैक्षिक, स्वास्थ्य र प्रशासनिक विकास र स्तरोन्नतीमा प्रबन्ध निर्देशकको भूमिका महत्वपूर्ण भएको भन्दै डा. साविहा यासमिनले डाइरेक्टरको पदमा रहेर कलेजलाई अगाडी बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको देखेर नै सञ्चालक समितिले प्रबन्ध निर्देशकमा चयन गरेको बताउनु भयो । साथै, उहाँले कलेजका शिक्षक, चिकित्सक, कर्मचारी सबैले एकबद्ध भएर आआफ्नो जिम्मेवारी पुरा गरे कलेजको विकास गर्न कुनै समय नलाग्ने पनि जिकीर गर्नुभयो ।
पदभारपछि बोल्दै नवनियुक्त प्रबन्ध निर्देशक डा. साविहा यासमिनले आफुलाई सफल बनाउन सबैको साथ सहयोग चाहिएको भन्दै विगतमा कलेज प्रशासन, चिकित्सक, कर्मचारीले राम्रो साथ दिएको र अब पनि सोही साथ सहयोग पाउने अपेक्षा गरेको बताउनु भयो । ‘हामी सबै एक हौं, म युवा भएपनि विगत ३ वर्षदेखि यहाँहरुले विस्वास गर्नु भएको छ । अब पनि साथ र सहयोग गर्नुहुनेछ भन्ने विस्वास छ ।’
कार्यक्रममा कलेजका डाइरेक्टर प्रा.डा. मोदनाथ मरहठ्ठा, डा. राजेश किशोर श्रेष्ठ लगायत फ्याकल्टी प्रमुखहरुले नवनियुक्त प्रबन्ध निर्देशकलाई शुभकामना दिँदै कलेजको सर्वोत्तम हितमा एकबद्ध भएर अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
0 प्रतिकृया