Follow us:


Follow us

३० असोज २०८२, बिहिवार
३० असोज २०८२, बिहिवार


सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पूर्णता दिने सहमति

एक्सन खबर
कार्तिक, २, २०८१




सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पूर्णता दिने सहमति

काठमाडाैं । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि बनेको सिफारिस समितिलाई पूर्णता दिने सहमति भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्र शीर्ष नेतृत्वकाे बैठकले अघिल्लो सरकारले बनाएको सिफारिस समितिलाई पूर्णता दिने निर्णय गरेको हो ।

पदाधिकारी नियुक्तिका लागि सिफारिस समितिलाई पूर्णता दिने र त्यही समितिले गरेको सिफारिसका आधारमा आयोग गठन हुने सहमति भएकाे छ । सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी आयोगमा पदाधिकारी सिफारिस गर्न अघिल्लो सरकारका पालामा समिति गठन गरिएपनि पूर्णता दिइएको थिएन । अहिले सर्च कमिटीलाई पूर्णता दिएर गठन प्रक्रिया अघि बढाउनेबारे सहमति भएकाे बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए । 

बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत तथा महान्यायाधिवक्ता रमेश वडाल सहभागी थिए ।

गत चैतमा मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न समिति बनाउने निर्णय गर्दा उक्त समितिमा पूर्वन्यायाधीश जगदिश शर्मा पौडेल, स्टेला तामाङ, डा. अर्जुनकुमार कार्की र राष्ट्रिय मानवअधिकार आयोगका सदस्य वा आयोगले तोकेका व्यक्ति रहने निर्णय भएको थियो ।


गत भदौ १३ गते राष्ट्रपतिबाट ती आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण समेत भइसकेकाे छ । टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिन शुक्रबार मन्त्रिपरिषद बैठक डाकिएकाे छ । आज साँझ पाँच बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठकले टीआरसी सम्बन्धी निर्णय गर्ने छ । 













0 प्रतिकृया