Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


पूर्वमन्त्री भगबती चौधरीको पहलमा गरिब विपन्नलाई एक सय घर बनाइँदै

एक्सन खबर
कार्तिक, २, २०८१


पूर्वमन्त्री भगबती चौधरीको पहलमा गरिब विपन्नलाई एक सय घर बनाइँदै

सुनसरी । सुनसरीको गढी गाउँपालिकामा गरिब, विपन्न र सुकुम्बासी परिवारलाई निःशुल्क घर बनाइदिने कार्य अगाडी बढेको छ । सुनसरी निर्वाचन क्षेत्र नं. ३ की सांसद भगबती चौधरीको सक्रियतामा सो क्षेत्रका गरिब, विपन्न, र भूमिहिन नागरिकका हकमा निःशुल्क घर बनाइन लागिएको हो । 

चुची फाउण्डेशनले सो क्षेत्रका गरिब, विपन्न नागरिकका लागि निःशुल्क घर बनाइदिने प्रस्ताव ल्याएकोमा गढी, बर्जु, इनरुवा नगरपालिकाले सैद्धान्तिक सहमति प्रदान गरेका थिए । मन्त्री चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुँदै गर्दा फाउण्डेशनले देशका विभिन्न क्षेत्रमा रहेका गरिब, विपन्नहरुलाई सुरक्षित आवास निर्माणको परियोजना ल्याएको थियो । सो क्रममा सुनसरी जिल्लाकै अति पिछडिएको क्षेत्रका रुपमा रहेको बर्जु र गढी गाउँपालिकामा पनि सुरक्षित आवास परियोजना सञ्चालन गर्ने प्रस्ताव अनुरुप सुनसरी ३ नं. क्षेत्रभर एक सय घर निर्माणको सम्झौता भएको थियो । 

सम्झौता अनुसार पहिलो चरणमा गढी गाउँपालिकामा ४० घर तथा इनरुवा नगरपालिकाको वडा नं. ७ चाँदवेलामा ३० घर निर्माण गरिने छ । बिहीबार परियोजना तत्काल सूचारु गर्न गढी र चाँदवेलामा स्थानीयहरुसँग समेत बृहद् छलफल भएको थियो । छलफलमा सांसद चौधरीले आफ्नो चुनाबी बाचा अनुसार क्षेत्रको विकासमा गम्भिरतापूर्वक लागेको भन्दै स्थानीयहरुले प्रशंसा पनि गरे । 

सो क्रममा बोल्दै सांसद चौधरीले सुनसरी क्षेत्र नं. ३ को विकास र जनताका लागि आफु सदैव क्रियाशिल रहने बताउँदै आफु राजनीतिमा लाग्दा आफुले जनताको विकास कसरी हुन्छ भन्नेमा सोच बनाएको बताउनु भयो । नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी चौधरीले जनताका सुख दुखःमा आफु हरदम रहने बताउँदै जनताका आधारभूत आवश्यक्ताहरु पुरा गर्न र सो क्षेत्रको बृहत्तर विकासमा आफु अहोरात्र खट्ने प्रतिबद्धता जनाइन् । 

चौधरीको सक्रियतामा क्षेत्रमा आएको परियोजनालाई कसरी सफल बनाउने ? लक्षित वर्गहरु कसरी पहिचान गर्ने ? सुरक्षित आवासको मोडल कस्तो हुने भन्ने विषयमा छलफल भएको थियो । छलफलमा गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी सहित स्थानीय जनप्रतिनिधि र नागरिकको बाक्लो उपस्थिति रहेको थियो । 

एक वर्षभित्र सुनसरी क्षेत्र नं. ३ का एक सय घर परिवारलाई सुरक्षित आवास निर्माण गर्ने यो परियोजना गढी, बर्जु, इनरुवा ७, इटहरी उमनपाको सुकुम्बासी क्षेत्र र दुहवी नगरपालिका अन्तरगतका सुकुम्बासी वस्तीमा सञ्चालन हुनेछ । 



















0 प्रतिकृया