सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पक्राउ
एक्सन खबर
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले रास्वपा केन्द्रीय कार्यालयबाटै उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरे अनुसार प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
लामिछानेलाई शुक्रबारै जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ । लामिछाने सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा पक्राउ परेका हुन् । प्रकरणमा लामिछाने सहित १४ जनाकाे नाममा पक्राउ पुर्जी जारी भएकाे छ ।
१६ असोज २०८० पूर्वअध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो । पिडितहरुले २२ माघ २०८० मा सभापति लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा फेरि पुरक जाहेरी दिए ।
सहकारीको रकम ग्यालेक्सी टिभीमा लगेर अपचलन गरेको खुलेपछि उनीहरुले लामिछानेसहितलाई प्रतिवादी बनाएर अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकृतले बताए ।
गत जेठ १५ गते एमाले सांसद् सूर्य थापाको नेतृत्वमा सहकारी समस्याबारे छानबिन संसदीय विशेष समिति गठन भएकाे थियाे । समितिले सहकारीको रकम अपचलनमा लामिछानेलाई समेतलाई दोषी ठहर गर्दै ४ असोज २०८१ मा प्रतिवेदन बुझाएकाे थियाे ।
प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई ६ असोजमा ‘जरुरी पक्राउ पूर्जी’ दिएर काठमाडौंबाट नियन्त्रणमा लिएकाे थियाे ।
0 प्रतिकृया