रोशी गाउँपालिकामा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं । सांसद सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य टोलीले काभ्रेको रोशी गाउँपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली कांग्रेसका सांसद डाक्टर शर्माले गरिब, विपन्न र दुरदराजमा रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याउने हेतूले सञ्चालन गरेको उक्त शिविरबाट एक हजार ३८ जना बिरामी लाभान्वित भएका छन् ।
मंगलबार ग्रेस नेपाल रोशी ३ सँगको सहकार्यमा आयोजित निःशुल्क शिविरमा १४८ जनाको ल्याब परीक्षण, १३७ जनाको इसिजी, १६८ जनाको भिडियो एक्सरे गरिएको काठमाडौं मेडिकल कलेजका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिए । शिविरबाट ५८ जनालाई शल्यक्रिया र थप उपचारका लागि रेफर समेत गरिएको छ ।
शिविरमा सो क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब विपन्न नागरिकले स्वास्थ्य जाँच गराएका थिए । गाउँघरमै निःशुल्क स्वास्थ्य शिविर आएपछि आफ्नो स्वास्थ्य जाँच गराउन नागरिकहरुको भिड लागेको थियो । शिविरमा, नाक कान घाँटी, स्त्री रोग, बाल रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, दन्त रोग तथा आँखा रोग सम्बन्धी सेवाहरु दिइएको थियो ।
सांसद शर्माले गरिब, विपन्न नागरिकहरुका लागि लामो समयदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेका छन् । डा. शर्माको स्वास्थ्य सेवाबाट देशभर लाखौं जनता लाभान्वित भएका छन् ।
0 प्रतिकृया