सांसद सुनिल शर्माद्वारा पुनित्ताको परिवारकै उपचार गरिदिने घोषणा
काठमाडौं । सांसद सुनिलकुमार शर्माले सर्लाहीको एक परिवारको निःशुल्क उपचारको व्यवस्था गरिदिनु भएको छ । गत असोज ३ गते सर्लाहीको ४ वटा क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा पुनित्ता मिष्त्री र उनका २ नाबालक छोराहरुको पनि स्वास्थ्य जाँच भएको थियो ।
सो क्रममा १४ वर्षीय छोरा विट्टु मिष्त्रीको तत्काल शल्यक्रिया मार्फत उपचार गर्नुपर्ने देखिएको थियो । उनको घाँटीमा ठूलो ट्युमर छ । आमा पुनित्ता तथा अर्को छोरा समेत बिरामी देखेपछि सबैको उपचार गर्न रेफर गरिएको थियो । उनीहरुमा एकै प्रकारको रोग देखिएको थियो ।
आर्थिक अवस्था कमजोर मिष्त्री परिवारसँग काठमाडौं आउने पैसा पनि थिएन । दैनिक ज्यालादारीमा काम गरेर जिवीकोपार्जन गरिरहेकी पुनित्ताले गाउँमा १० हजार ऋण काढेर उपचारका लागि सांसद डाक्टर शर्माको काठमाडौं मेडिकल कलेज आइपुगेको बताउँदै उपचार गर्ने कुनै पैसा नभएको भनेपछि सांसद शर्माले परिवारलाई नै निःशुल्क उपचार गरिदिने बताउनु भयो ।
शुक्रबार सर्लाहीबाट आफुलाई खोज्दै केएमसी नै आइपुगेकी पुनित्ता मिष्त्रीको परिवारको सम्पूर्ण औषधी उपचार निःशुल्क गरिदिने घोषणा गर्दै डा. शर्माले ५० हजार बराबरको औषधी खरिदका लागि फार्मेसीमा खाता नै खोलिदिनुभएको छ । ‘उहाँको परिवारको सम्पूर्ण उपचार, खाने बस्ने व्यवस्था हामीले नै गर्छौं ।’ डा. शर्माले भन्नुभयो ।
सो क्रममा नेपाली कांग्रेस सर्लाहि क्षेत्र नं. १ का सभापति हरि लुंगेली मगर महासमिति सदस्य योगराज देवकोटा, मधेश प्रदेश कार्य समिति सदस्य तथा स्वास्थ्य विभाग प्रमुख शर्मिला थापा सँग पनि भेटघाट गरी सांसद शर्माले पुनित्ताको परिवारको उपचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको छ । सो क्रममा नेपाली कांग्रेस काभ्रे सभापति तिर्थ लामाले समेत पुनित्ताको परिवारलाई आर्थिक सहयोग गर्नुभएको थियो ।
0 प्रतिकृया