पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
एक्सन खबर
काठमाडाैं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । आज दिउँसो दुई बजे फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका भान्जा सुरज भट्टराईले जानकारी दिए ।
अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो । ढुङ्गानाको कलेजोमा चार महिना अघि ट्यूमर पहिचान भएको थियो । त्यसकाे उपचारकाे लागि उनी भारतको नयाँ दिल्लीसम्म गएका थिए ।
वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । ढुङ्गाना कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशाेसिएशनमा दुई पटक सचिव र सर्वोच्च अदालत बार एशाेसिएशनको अध्यक्ष भएका थिए । ढुङ्गानाका दुई छोरा र एक छोरी छन् । उनकी श्रीमती भुवन कोइराला ढुङ्गाना प्रसिद्ध कवि हुन् ।
०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी सभामुख बनेका थिए । ०५१ सालको मध्यावधि चुनावमा विद्या भण्डारीसँग पराजित भएपछि ढुंगाना माओवादी जनयुद्ध कालमा शान्ति अभियानमा सकृय भए ।
उनको निधनप्रति उच्च पदस्त व्यक्तिहरूले शोक प्रकट गर्दै उनकाे याेगदानकाे प्रसंशा गरे । राष्ट्रपति रामचन्द्र पौडेलले ढुंगानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान स्मरणीय रहेको बताएका छन् । ‘राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता र नागरिक अगुवाका पहिचान बनाउनुभएका ढुंगानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान सधैं स्मरणीय हुनेछ ।’ राष्ट्रपति रामचन्द्र पाैडेलले भनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ढुंगानाको योगदान सम्झिरहने बताउँदै नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान रहेकाे उल्लेख गरे ।
यस्तै सभामुख देवराज घिमिरेले ढंगानालाई आदर्श व्यक्तिको रुपमा चित्रित गरेका छन्, ‘नेपालको संवैधानिक र संसदीय इतिहासमा उहाँको विशिष्ट योगदान रहेको छ। उहाँले नेपाली जनताले संसदीय मूल्य र मान्यताको पक्षमा निष्पक्ष भएर भूमिका निर्वाह गर्न सभामुखको रुपमा युगयुगसम्म सम्झनेछन् ।’
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुंगानालाई नागरिक आन्दोलनका अगुवा भएकाे उल्लेख गरेका छन् । ‘नेपालको लोकतान्त्रिक आन्दोलनका महत्त्वपूर्ण व्यक्तित्व, पूर्व सभामुख, मानवअधिकार तथा नागरिक आन्दोलनका अगुवा आदरणीय दमननाथ ढुंगानाको निधनको खबरले दुःखी बनाएको छ, नेपाल र नेपाली जनताले देशको राजनैतिक, तथा सामाजिक परिवर्तनमा उहाँले पुर्याएको योगदानलाई सदैव सम्झिरहनेछन् ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा ढुंगानाको योगदान महत्वपूर्ण रहेको बताएका छन् । ‘नेपालको लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा उहाँको योगदान महत्वपूर्ण थियो’ सभापति देउवाले सामाजिक संजालमा लेखेका छन् ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले शान्तिप्रक्रियामा ढुंगानाले पुर्याएको योगदान सम्झिरहने बताएका छन् । ‘नेपालको अग्रगामी राजनीतिक परिवर्तन, मानव अधिकार संरक्षण र विशेषतः शान्तिप्रक्रियामा वहाँले पुर्याउनु भएको योगदान हामीले सदैव सम्मानपूर्वक सम्झिरहनेछौं ।’ भट्टराई सामाजिक सञ्जालमा लेखेका छन् ।
0 प्रतिकृया