Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष सम्मका बालबालिकामा हुने क्यान्सर उपचार निःशुल्क

एक्सन खबर
मंसिर, ५, २०८१


भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष सम्मका बालबालिकामा हुने क्यान्सर उपचार निःशुल्क

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष सम्मका बालबालिकामा हुने क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क सेवा आजदेखि थालनी भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्ष उमेर समूहका बालबालिकामा हुने क्यान्सर रोगको सम्पूर्ण उपचार तथा औषधी सेवा थालनी मन्त्रीले बिरामीलाई उपचार कार्ड वितरण गर्दै थालनी गर्नुभएको हो । 

भक्तपुर क्यान्सर अस्पतालले गरेको कार्यक्रममा उहाँले सबै क्यान्सर भएका बिरामीको निःशुल्क उपचार गर्ने दायित्व सरकारको भए पनि राज्यको स्रोतले नभ्याउने भएकाले हाललाई १४ वर्षसम्मका बालबालिकाको उपचार गर्न सरकारले स्रोत सुनिश्चित गरेको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने गरी गत कात्तिक ११ गते मन्त्रिस्तरीय निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो ।

सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा बालबालिकाका लागि निःशुल्क उपचार गर्ने गर्ने निर्णय गरेको थियो । बालबालिकाको क्यान्सर रोगको उपचारसँगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधी पनि निःशुल्क प्रदान गरिनेछ । मन्त्रालयले गत २०८० चैत १४ मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)सँग बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधी प्राप्तिका लागि सम्झौता गरेको थियो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले भक्तपुरका अस्पतालहरू अब्बल भएपनि स्थान अभावका कारण समस्या आएको बताउनु भयाे । उहाँले क्यान्सर अस्पताल तथा मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई अझ स्थान अभाव भएको बताउँदै अस्पतालहरूलाई अन्यत्र स्थान उपलब्ध गराएर सेवा विस्तारमा लाग्नुपर्ने समेत बताउनु भयाे । पूर्वाधारहरूको अभावका कारण क्षमता अनुसारको सेवा दिन नसकेको उहाँकाे भनाइ छ ।

यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समयमा उपचार भए बालबालिकामा हुने क्यान्सर निको हुने बताउँदै नेपालमा सर्ने भन्दा नसर्ने रोगको प्रकोप बढ्दै गइरहेको बताउनुभयो । नेपालमा मधुमेह, ब्लड प्रेसर र क्यान्सर जस्ता नसर्ने रोगको स्थिति भयावह बन्दै गएको बताउँदै उहाँले नसर्ने रोग लाग्नबाट नागरिकलाई समयमै सचेत पार्न जनचेतनाका कार्यक्रम अगाडि ल्याउनुपर्ने जिकीर गर्नुभयाे ।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाल रोग विशेषज्ञ डा. रितु लामिछानेले बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा विस्तार सराहनीय भएको बताउनु भयाे ।













0 प्रतिकृया