निजी तथा सरकारी अस्पताललाई सेवा शुल्क सार्वजनिक गर्न परिपत्र
एक्सन खबर
काठमाडाैं । आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई सरकारले परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सरकारी अस्पतालहरूले ताेकिएकाे भन्दा बढी शुल्क लिएको गुनासो आएपछि स्वास्थ्य संस्थाहरूलाई शुल्क सार्वजनिक गर्न परिपत्र गरेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भनेका थिए । कतिपय नागरिकले स्वास्थ्य संस्थाहरूले लिने शुल्कबारे थाहा नै नहुने गरेको समेत गुनासो गरेपछि मन्त्री पौडेलले शुल्क थाहा पाउने गरी सार्वजनिक गर्न पहल गरेका थिए ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न निजी तथा सरकारी अस्पतालहरूलाइ परिपत्र गरेको हो । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहजरुपमा जानकारी पाउने व्यवस्था गर्न भनेको छ ।
पत्रमा शैल्यक्रिया शुल्क सहित सबै खालका शैय्याको शुल्क विवरण, रेडियोलोजी सेवा तथा ल्याबको शुल्क, टिकटकाे शुल्क विवरणसमेत खुलाउन भनिएको छ । सेवा शुल्क एक हप्ता भित्र सार्वजनिक नगरे कारवाही गर्ने भनिएकाे छ ।
0 प्रतिकृया