लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु
एक्सन खबर
काठमाडाैं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ याे अभियान सुरु भएको छ ।
हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा मनाउने निर्णय गरिएकाे छ । नेपालको मन्त्रिपरिषद बैठकले २०७५ साल मंसिर २ गते नेपालमा सामाजिक सचेतनासहित लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकायहरु, ७ वटै प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ वटै स्थानीय तह एवम् सरोकारवाला निकायहरु, सामाजिक संघसंस्थाहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो ।
सन् १९८० देखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको विभिन्न अभियान सुरु भएको हाे ।
अभियानका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै कसैले पनि हिंसा, अपमान र विभेद महसुस गर्न नपरोस् भनेका छन् । यो अभियानलाई सबैको संयुक्त प्रयासबाट अगाडि बढाउन जरुरी रहेको भन्दै प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘एउटा मेसिनलाई यन्त्र ठान्ने दास युग, महिलालाई वस्तु ठान्ने सामन्ती युगबाट हामी अहिले चेतनागत, मान्यतागत, संवैधानिक, कानुनी हिसाबले र व्यवहारिक हिसाबले आधुनिक, समतामुलक, शान्तिपूर्ण युगमा प्रवेश गरेका छौं र यसलाई अझ उन्नत बनाउने हाम्रा प्रयास जारी छन् ।’
यस अभियानले सभ्य, हिंसारहित समाज निर्माण गर्न महत्वपूर्ण योगदान दिने विश्वास प्रधानमन्त्रीको छ । ‘म सबैलाई आग्रह गर्न चाहन्छु, हरेक संघसंस्था वा समाज सबै ठाउँबाट संकल्प गरौं कि अब हामी लैंगिक हिंसा, भेदभाव हुन दिनेछैनौं । यस अभियानले हामी सबैलाई त्यही प्रेरणा प्रदान गरोस् ।’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
यसै अवसरमा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, सांसद भगबती चाैधरीले समतामुलक समाज निर्माण गर्न, महिला माथिका सबै खाले हिँसाकाे अन्त्य गर्ने १६ दिने अभियानले प्रेरित गर्ने भन्दै शुभकामना दिएकी छन् । सामाजिक सञ्जालमा लेख्दै चाैधरीले २१ औं शताब्दीमा महिला माथिकाे कुनैपनि प्रकारकाे विभेद दण्डनीय हुनुपर्ने बताएकी छन् ।
‘२१ औं शताब्दीमा अझैपनि महिला माथि विभेद र दुर्व्यहार भइरहनु दण्डनीय कुरा हाे । विश्वव्यापी रूपमै महिला पुरूष विच समानताका कायम गर्न हामी सबै लागि पर्नु अपरिहार्य छ । नेपालमा अझै पनि सामाजिक, सांस्कृतिक, राजनीतिक, कानुनी विभेदहरू रहेकाे छ । संविधानले महिलालाइ राज्यका हरेक स्थानमा ३३ प्रतिशत अधिकार सुनिश्चित गरेपनि कार्यान्वयनका पक्षमा काम नहुनु दुखःद हाे ।’ नेकपा एमालेकी नेतृ समेत रहेकी चाैधरीले उल्लेख गरेकी छन् ।
0 प्रतिकृया